करिब १० महिनाअघि ३२२७ को बिन्दुसम्म पुगेको नेप्से परिसूचक २००० को लेभलमा झरेको छ। अल टाईम हाईको लेभलबाट ३६% को हाराहारीमा घटेको बजारमा अधिकांश कम्पनीहरुको मूल्य ५० देखि ६० प्रतिशतसम्म घटेका छन्। बजार ३२०० माथि हुँदा ४२ खर्बको हाराहारीमा पुगेको बजार पुँजीकरण अहिले २९ खर्बमा झरेको छ। यो १० महिनाको अवधिमा लगानीकर्ताहरुले १३ खर्ब भन्दा बढी सम्पती गुमाईसकेका छन्। केहि समयअघि अर्थमन्त्रीले संसदमा पेश गरेको बजेटको आकार १७ खर्बको छ। यसरी हेर्दा यो १० महिनाको अवधिमा लगानीकर्ताहरुले करिब करिब देशको १ बर्षको बजेट बराबरको सम्पती गुमाएका छन।
सेयर बजारमा आम जनताको सहभागिता कस्तो छ ?
अहिले करिब ५२ लाख वटा डिम्याट खुलेका छन्। २५ लाख भन्दा धेरैले आईपीओमा आवेदन दिने गरेका छन्। करिब १५ लाख लगानीकर्ताहरुले दोश्रो बजारमा कारोबार गर्ने गरेका छन्। केहि बर्षअघि सेयर बजारमा जम्मा २/३ लाखको मात्रै सहभागिता थियो। तर अहिले पचासौं लाख जनसंख्या सेयर बजारमा प्रत्यक्ष रुपमा संलग्न रहेको छ।
राष्ट्र बैंक बजारको दुश्मन बन्यो
हुन त सेयर बजार सँधै बढिरहने भन्ने हुँदैन। संसारको कुनै पनि सेयर बजार बढिरहने वा घटिरहने भन्ने हुँदैन। तर छोटो समयमै २०% भन्दा धेरैले बजार घट्नुलाई अन्तराष्ट्रिय स्तरमा निकै चासोका साथ लिईन्छ। राष्ट्रपती, प्रधानमन्त्री आफैले लगानीकर्ताहरुलाई संयमित भएर लगानी गर्न आह्वान गर्ने गर्दछन। सेक्युरिटिज बोर्ड, केन्द्रिय बैंक तथा अन्य निकायहरुले सेयरबजार मैत्री पोलिसी लागू गर्ने गर्दछन। सरकारले सरकारी संस्थाहरुलाई सेयर बजारमा लगानी गर्न निर्देशन दिन्छ। तर हाम्रो बजारमा त ठिक उल्टो छ। यहाँ त सरकार र नियामकहरु सेयर बजारप्रति जिम्मेवार नै छैनन्। 'यिनीहरु जुवा खेल्न आएका त हुन् नि, डुबुन न' भन्ने किसिमको रवैया देखाइन्छ। पछिल्लो समय गठबन्धन सरकारले त सेयर बजार मैत्री नीति नै अंगालेको देखिन्छ। आ. व. २०७९/८० को बजेटमा पनि सेयर बजारलाई राम्रै स्थान दिईएको छ। तर नेपाल राष्ट्र बैंकले भने सेयर बजार बिरोधी नीति अंगालिरहेको देखिन्छ। हालका राष्ट्र बैंकका गभर्नर तत्कालिन एमाले सरकारको नियुक्ति भएको र सोहि कारणले एमाले निकट गभर्नरले ५० औं लाखको संख्यामा रहेका लगानीकर्ताहरुलाई सरकार बिरोधी बनाउनको लागि नै सेयर बजार बिरोधी नीति अंगालिरहेको आरोप लगानीकर्ताहरुले लगाउँदै आएका छन।
१. ४/१२ को पोलिसी
चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गर्यो। एक जना लगानीकर्ता र उसको एकाघर परिवारको व्यक्तिहरुको नाममा कुनै एक बैंक/वित्तिय संस्थाबाट ४ करोड र समग्र वित्तिय प्रणालीबाट १२ करोडसम्म मात्रै सेयर धितोकर्जा लिन पाउने नियम लागू गरेसंगै १२ करोडभन्दा बढी ऋण लिएका लगानीकर्ताहरुले बाध्य भएर सेयर बेच्नुपर्ने अवस्था आयो। समयसिमा नै नदिई ऋणको सिमा झार्न लगाउँदा सेयर सप्लाई बढ्यो र बजार उच्च अंकले घट्यो। बिचमा लगानीकर्ताहरुबाट पटक पटक यो पोलिसीमा पुनर्विचार गरियोस भन्ने माग आउँदा पनि राष्ट्र बैंकले त्यसलाई वास्ता गरेन। अरु केहि नगरे पनि कमसे कम लोन सेटल गर्ने समय अलिकति थपिदिए पनि धेरै सहज हुन्थ्यो भन्ने मागलाई पनि राष्ट्र बैंकले बेवास्ता गर्यो। जसको परिणामस्वरुप अहिले बजार २००० को लाईनमा आइपुगेको छ।
२. अचानक सिसिडि रेसियोलाई सिडीमा रुपान्तरण गरियो
बैंक तथा वित्तिय संस्थाहरुले डिपोजिट कलेक्सनको ९०% मात्रै कर्जा लगानी गर्न पाउने नीति लियो। बैंक/ वित्तिय संस्थाहरुको रिजर्भमा रहेको पैसा र सेयर पुँजी लाई कर्जा प्रवाह गर्दा चलाउन नमिल्ने नीति लिएसंगै ४०० अर्ब भन्दा धेरै पैसा फ्रिज भएर बसिदियो, जसले गर्दा अहिले तरलता संकटको स्थिति देखिएको छ। राष्ट्र बैंकले कुनै पर्याप्त तयारीबिना लिएको यो नीतिले मुलुकको अर्थतन्त्रलाई नै गम्भीर धक्का दिएको छ।
३. सेयर कर्जामा जोखिम भार बढाइयो
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिमभार बढाईएको छ। यसअघि १०० प्रतिशत रहेको जोखिम भार लाई १५०% बनाईएको छ। यसरी जोखिमभार बढ्दा बैंक वित्तिय संस्थाले सेयर धितोमा कर्जा प्रवाह गर्दा बढी प्रोभिजनिंग गर्नुपर्ने हुन्छ, जसकारण उनीहरु सेयर धितोकर्जालाई सकेसम्म कम गर्ने भन्ने योजनामा पुग्दछन। यसले रणनीतिक रुपमा सेयरबजारलाई प्रभावित पार्ने काम गर्दछ।
४. गभर्नर सार्वजनिक रुपमा ब्याजदर बढ्छ भन्ने अभिव्यक्ति दिन थाले
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रमहरुमा यो महिना ब्याज बढ्छ, यो महिना घट्छ भन्दै हिड्न थालेका छन्। यसअघि पुषमा एउटा कार्यक्रममा उनले माघमा ब्याजदर बढ्छ भने तर बैंक वित्तिय संस्थाहरुले ब्याज बढाएनन। त्यस्तै जेठ महिनामा ब्याज बढ्छ भनेर सार्वजनिक कार्यक्रममै भाषण दिए तर वाणिज्य बैंकहरुले ब्याजदर बढाएनन। ब्याजदर बढ्ने कुराले सेयर बजार घट्ने गर्दछ। गभर्नरले नै ब्याजदर बढ्छ भनेपछि प्यानिक भएर लगानीकर्ताहरुले सेयर बेच्न थाले। यसले पनि सेयर बजारलाई थप घटायो।
५. बैंक वित्तिय संस्थाहरुलाई सेयर लगानीमा बन्देज लगाईयो
राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर कारोबारमा बन्देज लगायो। उसले 'क', 'ख' र 'ग' वर्गका बैंक वित्तिय संस्थाहरुले खरिद गरेको सेयर १ वर्षपछि मात्रै बेच्न पाउने र त्यो पनि १ आर्थिक वर्षमा प्राथमिक पुँजीको १% मात्रै सेयर बेच्न पाउने निर्देशन दियो। यो सर्कुलरले पनि सेयर बजार घटाउन भूमिका खेलेको छ।
२०७८ को जेठ महिनामा सेयर बजार उच्च अंकले बढेको बेला जारी गरिएको यो सर्कुलरबाट राष्ट्र बैंक पछि हट्नुपर्ने देखिन्छ। अहिले सेयर बजार आफ्नो अल टाईम हाईबाट १२०० अंकले घटिसकेको अवस्थामा राम्रो वित्तिय अवस्था भएका र उच्च प्रतिफल दिई रहेका कम्पनीहरुको मूल्य धेरै तल आईसकेको अवस्थामा बैंक बित्तिय संस्थाहरुले अनिवार्य रुपमा मेन्टेन गर्नुपर्ने तरलतालाई सेयर कारोबारको लागि प्रयोग गर्न अनुमति दिँदा त्यसले एक त सेयर बजारलाई सकारात्मक बनाउँछ भने अर्कोतर्फ़ बैंक/वित्तिय संस्थाहरुले सेयर बजारबाट प्रतिफल लिन सक्दछन। त्यस्तै राष्ट्र बैंकले बैंक/वित्तिय संस्थाहरुलाई सेयर बजारमा लगानी गर्न सहजता प्रदान गरेपछि त्यसले बजारमा सकारात्मकता प्रदान गर्दछ र बजारलाई स्थायित्व प्रदान गर्दछ।
सेयर बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ। विकसित देशहरुमा सेयर बजार ठूलो अङ्कले घट्नुलाई देशको अर्थतन्त्र मन्दीमा जान लागेको संकेतको रुपमा लिएर तत्काल सेयर लगानीकर्ताहरुको मनोबल बढाउन आवश्यक पर्ने कार्यहरु गर्ने गरिन्छ। पछिल्लो समय संयुक्त राज्य अमेरिकाको सेयर बजारमा अलिकति गिरावट आउनेबित्तिकै त्यो कुरा राष्ट्रिय चर्चाको विषय बन्यो र अब अमेरिकी अर्थतन्त्र मन्दीउन्मुख भयो भन्ने चर्चा भयो। तर नेपालमा १० महिनाको अवधिमा बजार ४० प्रतिशतको हाराहारीमा झर्दा पनि सरकार र नियामकहरुले यसलाई गम्भीरतापुर्वक लिएको देखिदैन। सबैभन्दा अचम्म त के छ भने अर्थशास्त्र पढेका, अर्थतन्त्रका आयामहरू बुझेका राष्ट्र बैंकका नेतृत्व पंक्तिले पनि सेयर बजारको महत्वलाई स्वीकारेको देखिदैन। सेयर बजार क्र्याश हुनु भनेको देश ठूलो संकटमा जानु हो। यसअघिका जति पनि ग्लोबल रिसेसनहरु भएका छन् सबै सेयर बजार क्र्याश कै कारण भएका छन। नेपालको सेयर बजार अहिलेसम्म फर्किन सक्ने अवस्थामा छ। नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरुलाई थोरै मात्र पुँजीबजार मैत्री बनाउने हो भने सेयर बजार सम्हालिन सक्छ। तर राष्ट्र बैंकले पुँजीबजार प्रति अहिलेकै जस्तो रवैया देखाउने हो भने सेयर बजार लामो समयको लागि थला पर्ने सम्भावना देखिएको छ। त्यस्तो अवस्थामा लाखौँ लगानीकर्ताहरु घरबार विहिन भई सडकमा आउने अवस्था बन्नेछ र यसको जिम्मेवारी राष्ट्र बैंकले लिनुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस