२०६५ सालमा आफू अर्थमन्त्री छँदा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका दोश्रो वरियताका नेता डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवाको संज्ञा दिए। ११०० भन्दा माथि रहेको नेप्से परिसूचक उनको अभिव्यक्तिपछि अत्याधिक मात्रामा घटेर २९२ सम्म झर्यो। उनको यस अभिव्यक्तिको चौतर्फी आलोचना भयो। तत् समयमा आफ्नो अभिव्यक्तिबाट टसमस नभएका भट्टराईले २०७५ सालतिर आफुले सो समयमा दिएको 'सेयर बजार जुवाघर हो' भन्ने अभिव्यक्ति फिर्ता लिंदै आत्मालोचना समेत गरे।
कम्युनिष्ट विचारधाराका मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएपछि उनले पनि सेयर बजारलाई 'अनुत्पादक क्षेत्र' को रुपमा परिभाषित गरे। उनको यो अभिव्यक्तिपछि घट्दो क्रममा रहेको नेप्से परिसूचक निकै तिब्र गतिले घट्यो। १५०० को आसपासमा रहेको नेप्से परिसूचक उनको अभिव्यक्तिपछि ११०० भन्दा पनि तल खस्यो।
केहि महिनाअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजार साम्राज्यवादको विकसित रुप हो भन्ने अभिव्यक्ति दिए। उनको यो अभिव्यक्तिले ठूलै हलचल मच्च्यायो। उनको अभिव्यक्ति आएसंगै दुई दिनको अवधिमै सेयर बजार करिब २०० अंकले घट्यो।
त्यस्तै हिजोमात्रै नेकपा माओवादी केन्द्रकै केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य शिव कुमार मण्डलले सेयर बजारलाई जुवाघरको रुपमा परिभाषित गरे। सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै उनले सेयरमा गरिनुपर्ने लगानी अन्य उत्पादनशिल क्षेत्रमा गरिनुपर्ने बताए। 'सेयरमा गर्ने लगानी बरु हाइड्रोपावरमा गरौँ', उनले भने। नेता मण्डललाई नेपालमा बनेका अधिकांस हाइड्रोपावरहरुको लगानी सेयर बजारबाटै जुटेको छ भन्ने कुराको ज्ञान नभएको कुरा उनको अभिव्यक्ति सुन्दा सजिलै थाहा पाइन्थ्यो।
किन लाग्छ कम्युनिष्टहरुलाई सेयर बजार 'जुवाघर' ?
कम्युनिष्ट विचारधाराका व्यक्तिहरुलाई सेयर बजार किन जुवाघर लाग्दो रहेछ भन्ने प्रश्न हामीले वामपन्थी विचारधाराका राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटरलाई सोधेका थियौं। उनका अनुसार कम्युनिष्ट मात्र नभएर समाजवादी विचारधाराको सिद्धान्त अनुसार पनि सेयर बजार बनेको सबैभन्दा ठुलो वैधानिक जुवाघर हो जहाँ पुंजीको व्यापार हुने गर्दछ। 'राजनीतिक अर्थशास्त्रमा मार्क्सवादको भाष्यमा सेयर बजारलाई जुवाघरको रुपमा लिईन्छ। यसमा प्रचण्डको, माधबजीको, केपीको कुरा होइन, कम्युनिष्ट विचारधारामा मात्र नभएर समाजवादी विचारधारामा पनि सेयर बजारलाई जुवाघरकै रुपमै लिईन्छ। नेपालका वामपन्थीहरु पुंजीवाद र मार्क्सवादलाई तालमेल गराएर हिड्ने गर्छन, अवसर अनुसार उनीहरुको विचार फरक हुने गरेको पाइन्छ तर आधारभूत कम्युनिष्ट सिद्धान्तमा पुंजीबजार साम्राज्यवादको विस्तारित रुप नै हो।' उनी बताउँछन्।
'सन् १८४०/५० को दशकदेखि नै मार्क्सवाद र पुंजीवादको रुपमा विश्वभरि नै लड़ाई हुँदादेखि नै मार्क्सवादी अर्थशास्त्रको भाष्यमा सेयर बजारलाई जुवाकै रुपमा लिईने गरिन्छ' उनले भने।
अर्का वामपन्थी विचारक मुमाराम खनालको विचार भने फरक छ।
'कम्युनिष्ट विचारधारा भन्ने वित्तिकै नियन्त्रित राज्यसत्ता हुने व्यवस्था हो। नेपालको कुरा गर्दा यो खुल्ला अर्थव्यवस्था भएको मुलुक हो, संसदीय व्यवस्था हो, उदार लोकतान्त्रिक व्यवस्था हो, पुंजीवादी व्यवस्था हो। तर अहिले कम्युनिष्ट हरुको चरित्र कस्तो देखिन्छ भने उनीहरु माओकालिन चीन र स्टालिन कालिन सोभियत संघको जस्तो अर्थव्यवस्थाको जस्तो कुरा गर्छन। हाम्रो मुलुक उदार अर्थव्यवस्था अंगालेको मुलुक हो भन्ने कुरालाई उनीहरुले बेला बेला बिर्सिने गरेको हो कि भन्ने जस्तो देखिएको छ।' उनी भन्छन।
सेयर धितो कर्जामा लगाईएको ४/१२ करोडको सिलिङ्गको बारेमा सैद्धान्तिक रुपमा सहमत भए पनि जुन नियतका साथ सेयर बजारलाई नियन्त्रण गर्ने अभिप्रायले ४/१२ को पोलिसी ल्याईयो, त्यसप्रति आफू सकारात्मक हुन नसक्ने खनाल बताउँछन्। 'माओवादी अर्थमन्त्रीले नेपाली सेयर बजारको चरित्रलाई बुझ्नै सकेनन' खनाल भन्छन। उदार अर्थव्यवस्था भएको हाम्रो जस्तो देशमा सेयर बजारको अस्तित्वलाई स्वीकार गरी कसरी सेयर बजारको विकास र विस्तार गर्न सकिन्छ भन्नेतिर नै लाग्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।
खासमा शास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने कम्युनिष्टहरुको 'स्कुल अफ थट' अनुसार पुंजीबजार जुवाघर हो, साम्राज्यवादको विस्तारित रुप नै हो। तर माओको आफ्नै मुलुक चीनले समेत पुंजीवादी अर्थतन्त्रलाई स्वीकार गरी तिब्र आर्थिक विकासतर्फ मुलुकलाई लागेको कुरा सर्वविदितै छ। नेपालका अवसरवादी कम्युनिष्ट नेताहरुले पुंजीबजारको अस्तित्वलाई स्वीकार्न नसक्नु एउटा ढोंग हो। उदार लोकतान्त्रिक समाजवादी आर्थिक व्यवस्थालाई अंगालेको हाम्रो मुलुकमा पुंजीबजारलाई 'जुवाघर' वा 'अनुत्पादक क्षेत्र' वा 'साम्राज्यवादको विस्तारित रुप' भनेर चित्रण गर्नुले अर्थव्यवस्थाप्रति राज्यको दृष्टिकोण के हो भन्ने कुरा अस्पष्ट बनाउने काम गर्छ र त्यसले नेपालमा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ताहरु निरुत्साहित हुने गर्दछन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस