Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व गभर्नरहरुको एउटै स्वर : "राष्ट्र बैंकले सेयर बजारलाई रेस्क्यु गर्न अब ढिला गर्नु हुँदैन"

बसन्त पाण्डे

विहीबार, २३ असार २०७९, ११ : ३३ मा प्रकाशित

पूर्व गभर्नरहरुको एउटै स्वर : "राष्ट्र बैंकले सेयर बजारलाई रेस्क्यु गर्न अब ढिला गर्नु हुँदैन"

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरहरुले सेयर बजार 'ओभर करेक्सन' भईसकेकाले बजारलाई रेस्क्यु गर्न राष्ट्र बैंकले नीतिगत सुधार गर्नुपर्ने विचार व्यक्त गरेका छन्। अर्थमन्त्री समेत भईसकेका पूर्व गभर्नर डा. युवराज खतिवडा, पूर्व गभर्नर डा. तिलक बहादुर रावल तथा निवर्तमान गभर्नर डा. चिरन्जीवी नेपालले सेयर बजार निकै तल खसिसकेको र राष्ट्र बैंकले सेयर धितोकर्जामा लिएको अव्यवहारिक नीतिका कारण सेयर बजार निकै प्यानिक भएको हुँदा गत वर्षको मौद्रिक नीतिमा लिईएको सेयर धितो कर्जा सम्बन्धी ती नीतिहरुलाई अब आउन लागेको मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने बताएका हुन्।  

वर्तमान गभर्नर महाप्रसाद अधिकारीले 'गुरु' मान्ने डा. युवराज खतिवडाले नेप्से परिसूचक २३०० भन्दा तल जानुलाई ओभर करेक्सनको रुपमा व्याख्या गरेका छन्। सेयर बजारलाई अर्थतन्त्रको अवस्थाले ५०% प्रभाव पार्ने र सरकार तथा नियामकहरुले लिने नीति तथा दिने अभिव्यक्तिहरुले ५०% प्रभाव पार्ने भन्दै उनले सेयर बजार प्यानिक हुँदा लगानीकर्ताहरुको मनोबल बढाउने किसिमका कार्यहरु गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। आफू अर्थमन्त्री हुँदा सेयर बजार ११०० भन्दा तल खस्न थालेपछि एउटा कार्यदल नै बनाएर सेयर बजारको सुधारका लागि गर्नुपर्ने कामहरु के के हुन् भनेर सुझाव संकलन गरेको र कार्यदलले सुझाएका अधिकांश बुँदाहरु आफ्नो कार्यकालमै कार्यान्वयनमा ल्याएको स्मरण गर्दै बजारमा बायरहरु कमजोर हुँदा नागरिक लगानी कोष लगायतका संस्थाहरुलाई सेयर किन्न लगाएर बजारमा माहोल क्रियट गराएको समेत बताए। राष्ट्र बैंकले सेयर धितोकर्जामा लिएको ४/१२ करोडको नीति अनावश्यक भएको भन्दै समग्र बैंकिंग प्रणालीबाट सेयर धितोमा जाने कर्जाको बारेमा मात्रै राष्ट्र बैंकले कन्सर्न राख्नुपर्ने र कुन व्यक्तिले कति कर्जा लिन्छ भन्ने कुरामा राष्ट्र बैंकको हस्तक्षेप हुनु नहुने पनि बताए। अब आउने मौद्रिक नीतिमार्फत सेयर बजारका लगानीकर्ताहरुको मनोबल उकासिने गरी काम गर्न पनि उनले राष्ट्र बैंकलाई सुझाएका छन्। सेयर बजारमा १५ खर्बको सम्पत्ति गुम्दा त्यसले तरलता, सर्वसाधारणको क्रयशक्ति लगायतका कुराहरुमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै खतिवडाले सेयर बजारलाई सम्बोधन गर्न ढिला भैसकेको हुँदा यो कुरालाई राष्ट्र बैंक र अर्थमन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्।  

त्यस्तै राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावलले राष्ट्र बैंक सेयर बजारप्रति लापरवाह रुपमा प्रस्तुत भएको बताउँदै बजार २००० को लेभलमा आईपुग्नु निकै अस्वाभाविक भएको बताए। केहि समय अघि त झन् बजार १८०० कै बिन्दुमा झरेको सन्दर्भमा उनले सेयर बजार यसरी घट्दा त्यसले समग्र अर्थतन्त्रलाई नै असर पार्ने हुँदा राष्ट्र बैंकले आफ्ना नीतिहरु परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे। 

निवर्तमान गभर्नर डा. चिरन्जीवी नेपालले सार्वजनिक कार्यक्रमहरुमै सेयर धितोकर्जामा लिईएको ४/१२ करोडको सीमाको नीतिको आलोचना गर्दै आएका छन्। सिसिडि लाई सिडीमा परिवर्तन गर्ने राष्ट्र बैंकको नीतिलाई पनि उनले कुबेलामा लिईएको नीतिको रुपमा व्याख्या गर्ने गरेका छन्। तरलताको अवस्था निकै असहज भएको अहिलेको अवस्थामा सिडीलाई केहि वर्ष पछि लागू गर्ने गरी सिसिडी नै कार्यन्वयनमा ल्याऊनुपर्ने पनि उनले बताउँदै आएका छन्। सेयर बजार धेरै घट्दा त्यसले अर्थतन्त्रका धेरै क्षेत्रमा असर पार्ने भन्दै उनले राष्ट्र बैंकले सेयर बजारलाई रेस्क्यु गर्ने नीति लिनैपर्ने अवस्थाको सिर्जना भएको बताएका हुन्। 

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गर्दै गर्दा पूर्व गभर्नरहरुले दिएका सुझावहरुलाई ग्रहण गर्नु लाभदायक हुनसक्छ। आफ्नो कार्यकालमा सफलता पूर्वक राष्ट्र बैंकको नेतृत्व गरेका यी पूर्व गभर्नरहरुले आफ्नो अनुभव र ज्ञानको आधारमा व्यक्त गरेका धारणाहरुलाई गभर्नर र राष्ट्र बैंकले गम्भीरता पूर्वक लिनु अति आवश्यक देखिन्छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको