Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता र व्यवसायी तर्साउँदै हिँड्ने गर्भनरज्यूलाई कसले नियन्त्रण गर्ने ?

कृष्ण भट्टराई

सोमबार, २७ असार २०७९, १० : ४० मा प्रकाशित

लगानीकर्ता र व्यवसायी तर्साउँदै हिँड्ने गर्भनरज्यूलाई कसले नियन्त्रण गर्ने ?

केही महिनादेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा नेपालको अर्थतन्त्र धरासायी बनेको र यस्तै अवस्था रहेमा नेपालको पनि हालत श्रीलंकाको जस्तै बन्ने अभिव्यक्ति दिँदै आइरहेका छन् । यति मात्र होईन उनले केही महिना पहिलेदेखि नै बैंकहरुको ब्याजदर बढ्ने भन्दै लगानीकर्ता तथा व्यवसायीहरुलाई आतंकित समेत पार्दै आइरहेका छन् । 

राष्ट्र बैंक जस्तो गरिमामय संस्थाको नेतृत्वमा रहेको व्यक्तिले नै लगानीकर्ता तथा व्यवसायीहरुलाई सान्तवना दिनुको सट्टा उल्टै त्रसित बनाउँदै हिड्दा समग्र व्यवसायिक क्षेत्र नै प्रभावित हुन पुगेको छ । करिब करिब ३ महिना अघिदेखि गर्भनरले बैंकको ब्याज बढ्ने र त्यसका लागि तयारी अवस्थामा रहन व्यवसायीहरुलाई आग्रह गर्दै आएका छन् तर त्यसको विपरित विगत तिन महिनादेखि कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर बढाएका छैनन् । 

ब्याजदर बढाँउदा समेत बैंकिङ प्रणालीमा पैसा नबढ्ने विश्लेषण बैंकरहरुको छ । यसरी ब्याजदर बढाउँदा पनि निक्षेप नबढ्ने देखेर नै नेपाल बैंकर संघले ब्याजदर नबढाउने निर्णय गरेको हो तर गभर्नर भने निरन्तर ब्याजदर वृद्धिको पक्षमा देखिएका हुन् । 

त्यस्तै कतिपय अर्थशास्त्रीहरुले नै नेपालको र श्रीलंकाको अर्थतन्त्रको नेचर नै भिन्न भएकाले नेपालको अवस्था श्रीलंकाको जस्तो नहुने तर्क गर्छन् । श्रीलंकाको मुख्य आम्दानीको श्रोत भनेको नै पर्यटन हो कोभिडका कारण त्यहाँको पर्यटन व्यवसाय ठप्प हुँदा अहिलेको अवस्था आयो तर नेपालको प्रमुख आयस्रोत भनेको रेमिट्यान्स हो कोभिडका समयमा नेपालमा भित्रिने रेमिट्यान्समा केहि कमी आएको भएता पनि ठप्पै भने भएको थिएन । त्यस्तै नेपाल र श्रीलंकाको वैदेशिक ऋणको अवस्था पनि निकै भिन्न छ । 

सरकारको आर्थिक सल्लाहकार भनेको नेपाल राष्ट्र बैंक हो । यसको काम भनेको सरकारलाई राष्ट्रको अर्थतन्त्रका बारेमा जानकारी दिई आवश्यक कदम चाल्न सल्लाह दिनु पनि हो । तर राष्ट्र बैंकको नेतृत्वमा रहेका गर्भनरले सरकारलाई सल्लाह सुझाव दिनुको सट्टा उल्टै व्यवसायीहरुलाई त्रसित बनाउँदै हिड्नुलाई कदापी सही मान्न सकिँदैन । 

ब्याजदर र अर्थतन्त्रका विषयमा गर्भनरले विभिन्न सार्वजनिक कार्यक्रममै नकारात्मक टिप्पणी गर्न थालेपछि उनको चर्को विरोध समेत हुन थालेको छ । राष्ट्र बैंक भनेको आफैमा एकदमै जिम्मेवार निकाय हो यसले देशको समग्र अर्थतन्त्रको जिम्मेवारी समेत बहन गरेको हुन्छ । देशको अर्थतन्त्र गलत बाटोमा जाँदैछ भने त्यसलाई सहि बाटोमा ल्याउने जिम्मेवारी पनि गभर्नरको हो त्यसैले यस्तो महत्वुर्ण पदमा बसेको व्यक्तिले यसरी बोल्दै हिड्नु उपर्युक्त नहुने जानकारहरुको तर्क छ । 

गभर्नरका पछिल्ला अभिव्यक्तिहरुले त समग्र व्यवसायीहरु नै त्रसित हुने अवस्था आयो नि भन्ने प्रश्नमा राष्ट्र बैंकका पुर्व गभर्नर समेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडाले भने ‘सत्य कुरा पनि कहिलेकाहीँ नगर्दा राम्रो हुन्छ । समस्या आफुले रियलाइज गर्ने हो र समाधानको बाटोमा लाग्ने हो । समस्या छ भने समाधान गर्नतर्फ पो लाग्नुपर्यो । समस्या मात्र देखाईदिने कुराले त प्रश्न उठ्नु स्वाभाविक हो ।’ 

‘पूर्व गभर्नर भएको हिसाबले म भन्दा अघिका र पछिका गभर्नरहरुको ठाडो आलोचना म गर्दिन, त्यो मेरो धर्म हो । तर गभर्नर अर्थमन्त्रीजस्ता अति महत्वपूर्ण जिम्मेवारीको पदमा बसेका व्यक्तिहरुले बोल्दा निकै विचार पुर्याउनुपर्छ ।  वित्तिय क्षेत्रको संरक्षक भएकाले गभर्नर र समग्र अर्थतन्त्रको संरक्षक भएकाले अर्थमन्त्रीले आफ्ना अभिव्यक्तिहरुले आम सर्वसाधारणमा ठूलो प्रभाव पार्ने हुँदा यदि समस्या छ भनेपनि समस्या समाधान गर्न हामी यो यो काम गर्दैछौं भनेर जनतालाई आश्वस्त पार्ने काम गर्नुपर्छ । विकराल समस्या छ भनेपनि हामी यसरी अघि बढ्नेछौं, यसरी संकटबाट बाहिर निस्किन्छौँ भनेर मार्गचित्र देखाउनुपर्ने व्यक्तिहरु आफै अब देश यस्तो हुँदैछ, भयंकर नराम्रो अवस्था आउँदैछ भनेर भाषण दिँदै हिड्न थालेपछि जनताहरु आत्तिई हाल्छन नि !’ उनले भने । 

त्यस्तै नेपालको पूँजी बजारमा लगानी गर्ने लगानीकर्ता माझ चर्चित एक पात्र शिवचन्द्र डोनले समेत गभर्नरका पछिल्ला अभिव्यक्तिहरु सही नभएको बताएका छन् । उनले गर्भनर जस्तो व्यक्तिले अर्थतन्त्रको हवाला दिँदै जनता तर्साउँदै हिड्नु भन्दा पनि अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपाय खोज्नु पर्ने बताउँछन् उनी । 

‘मौद्रिक नीतिको सम्बन्धमा गभर्नर सापको महिना दिन अगाडी देखीको शंखनाद देखी ताजुब लागेर आउँछ । गभर्नर जस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक ठाउँमा मनलाग्दी शंख फुकेर लगानिकर्ता र सरोकारवालाहरु लाई तर्साउँदै हिँड्ने हैन । गभर्नर जस्तो संवेदनशिल पदमा रहेका व्यक्तिले त मुलुकको समय सापेक्ष आवश्यकतालाई मध्यनजर गर्दै राम्रोसँग होमवर्क गरेर समयमै निती नियम ल्याएर सिधै कार्यान्वयनमा ल्याउने हो ।’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको