Like us!
Follow us!
Connect us!
Watch us!

सकियो बजारको ‘फोर्सफुल सेलिङ्ग’, यी परिघटनाहरुले उठाउन सक्छ लगानीकर्ताको मनोबल

बसन्त पाण्डे

मंगलबार, ०७ भदौ २०७९, १० : ३७ मा प्रकाशित

सकियो बजारको ‘फोर्सफुल सेलिङ्ग’, यी परिघटनाहरुले उठाउन सक्छ लगानीकर्ताको मनोबल

नेप्से परिसूचक यतिबेला २०५० को हाराहारीमा छ। बजार २००० को लेभलतिर रहँदै गर्दा बजार अब आगामी दिनमा कता जाला भन्ने विषयमा चर्चा परिचर्चा भईरहेको छ। कतिपय लगानीकर्ताहरु बजार अझै तल झर्ने र यसअघिको १८०७ को लो लाई पनि ब्रेक गरेर तल जाने सम्भावना रहेको बताईरहेका छन् भने कतियापा चाहिँ बजार अब खासै नघट्ने बरु केहि समय एकुमुलेसन फेजमा गएर मज्जाले माथितिर जाने सम्भावना रहेको बताईरहेका छन्। आगामी दिनमा कता जाला त बजार ? अर्थतन्त्र, ब्याजदर, महँगी, फोर्सफुल सेलिङ्ग, तरलता, अन्तराष्ट्रिय परिदृश्य जस्ता बजारलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने तत्वहरुको अहिलेको अवस्था र आगामी दिनको सम्भावनाका बारेमा यो आलेखमा संक्षिप्त चर्चा गरिएको छ।  

फोर्सफुल सेलिङ्गको अन्त्य

गत वर्षको माहोल, बढिरहेको कारोबार रकम र बजारमा बढ्दो सहभागिता हेर्दा नेप्से परिसूचक ३५०० माथि नै जानसक्ने अनुमान प्राय: लगानीकर्ता तथा विश्लेषकहरुले गरेका थिए। यसैबिचमा राष्ट्र बैंकले सेयर धितो कर्जालाई च्याप्ने नीति ल्यायो। राष्ट्र बैंकको सेयर धितोकर्जामा ४/१२ करोडको सिलिङ्ग लगाउने नीतिले बजारले ठूलो फोर्सफुल सेलिङ्गको सामना गर्नुपर्यो। २०७८ को भदौ महिनाबाट घट्न थालेको बजारले वर्षभरि नै ४/१२ को सेलिङ्ग प्रेसरको सामना गर्नुपर्यो। आर्थिक वर्ष २०७८/०७९ सकिए संगै त्यो सेलिङ्ग प्रेसर सकिएको छ। त्यस्तै बचेखुचेका १२ करोड माथिका ऋण पनि भदौ ८ गतेभित्र असुल उपर गर्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। आज भदौ ७ हुँदै गर्दा अब त्यो सेलिङ्ग पनि सकिएको छ। ४/१२ को किस्सा अब पूर्णत: सकिएको छ।  
 
राष्ट्र बैंकको मार्जिन प्रकृतिका सेयर धितो कर्जामा नियन्त्रण गर्ने नीति आईसकेपछी सो प्रकृतिका कर्जाहरु घट्दै गएका छन्। पछिल्लो तथ्याङ्क अनुसार सो प्रकृतिको कर्जा अब ८६ अर्बको हाराहारीमा झरिसकेको छ। ठूलो रकमको कर्जाको संख्या घट्दै गएको छ भने सानो प्रकृतिको कर्जाको संख्या बढिरहेको छ। बैंक / वित्तिय संस्थाहरुको ऋण र बजार घट्दा आउने मार्जिन कलको कारण पनि बजार निकै भोलाटाइल भएको थियो। अघिल्लो वर्षको ऋण लिएका लगानीकर्ताहरुले ऋण चुक्ता गरिसकेका वा नवीकरण गर्नेहरुलाई पनि बैंकले पछिल्लो १२० दिनको मूल्यको एभरेज वा मूल्यांकन गर्ने बेलाको बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसकै ७०% रकम बराबरको कर्जा प्रदान गरेको हुँदा अब बजार अलिकति तल गयो भने पनि मार्जिन कल आउने सम्भावना निकै कम हुन्छ। त्यसैले आगामी दिनमा बजारमा फोर्सफुल सेलिङ्ग आउने सम्भावना देखिँदैन।  

घट्दो महंगी /स्थिर ब्याजदर 

बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप तर्फको ब्याजदर केहि समय नबढाउने भएका छन। यता राष्ट्र बैंकले व्यतिगतको तुलनामा संस्थागत निक्षेपको ब्याजदर २% ले कम हुनुपर्ने व्यवस्था गरेपछि संस्थागत निक्षेपको ब्याजदर घटेको छ। कुल निक्षेपको ७०% को हाराहारीमा रहेको संस्थागत निक्षेपको ब्याजदर घटेसंगै बैंकहरुको बेस रेट घटेको छ। यसले कर्जाको ब्याजदर पनि केहि हदसम्म घट्न सक्ने संकेत गरेको छ।

चुनावले बजारमा तरलता बढाउने नै छ। जानकारहरुले चुनावले २०० अर्बभन्दा बढी पैसा बैंकिंग प्रणालीमा थपिने अनुमान गरेका छन्। यसले तरलतालाई सहज बनाउन ठूलो भूमिका खेल्ने विश्लेषण जानकारहरुले गरेका छन्। त्यसैले निक्षेप तर्फ अहिलेको ब्याजदर नै उच्चतम हुनसक्ने सम्भावना पनि देखिएको छ। त्यस्तै सहकारीहरु डुब्न थालेका र सहकारीहरुले निक्षेपकर्ताहरुको निक्षेप फिर्ता गर्न नसकेको समाचारहरु आइरहँदा सहकारीहरुमा जाने निक्षेप पनि बैङ्किङ्ग प्रणालीमा आउन थालेको छ। जसले तरलतालाई थप बढाउने छ।  

केहि समयअघि राष्ट्र बैंकले प्रकाशित गरेको रिपोर्ट अनुसार भारतमा मुद्रास्फीति १% ले घटिसकेको छ भने नेपालमा पनि घट्दो क्रममा छ।यदि बढ्दो मुद्रास्फीति नियन्त्रणमा आउंदै गएमा ब्याजदरलाई माथिल्लो लेभलमा राख्नुपर्छ भन्ने राष्ट्र बैंकको पोलिसीमा परिवर्तन आउने छ। सेयर बजारलाई बढ्दो ब्याजदरले निकै ठूलो प्रभाव पार्ने गर्दछ। त्यस्तै ब्याजदर स्थिर रहने वा बिस्तारै घट्ने वातावरण बन्दै जाने अवस्थामा त्यसले बजारलाई निकै सकारात्मक प्रभाव पार्नेछ। 

ठूला तथा संस्थागत लगानीकर्ताहरुका लागि 'स्ट्रंग एक्जिट इभेन्ट'

सेयर बजारमा आउने ठूलो पैसाले जहिले पनि बलियो एक्जिट इभेन्ट खोज्ने गर्दछ। अहिले लगानी गरिको पैसा केहि समयपछि नाफा सहित निकाल्न सकिन्छ कि सकिदैन भन्ने कुराको विश्लेषण गरेर मात्रै ठूलो पैसा बजारमा भित्रिने गर्दछ। अहिले २००० को लाइनमा रहेको नेप्से परिसूचक धेरै घट्ने ठाउँ नरहेको आँकलन हुँदै गर्दा आउने दिनहरुमा बढ्दै जाने तरलता, सुध्रिँदो अर्थतन्त्र, घट्दो ब्यापार घाटा, घट्दो मुद्रास्फीति, बढ्दो रेमिट्यान्स, पेट्रोलियम पदार्थको घट्दो मूल्य, चुनावी माहोल, सम्भवत: केहि हदसम्म घट्ने ब्याजदर आदिले अहिले बजारमा लगाईने ठूलो पैसालाई पनि बलियो एक्जिट इभेन्ट प्रदान गर्नेछ। यो सबै कुराको राम्रो विश्लेषण गरेर बसेका ठूला तथा संस्थागत लगानीकर्ताहरुले सेयर एकुमुलेसन गर्दै जाने र त्यसले आगामी दिनमा सेयर बजारमा उछाल ल्याउन सक्ने सम्भावना देखिएको छ।  

सेयर बजारमा सँधै जोखिम रहन्छ। बजार ११०० को बिन्दुमा हुँदा पनि जोखिम थियो, ३२०० को बिन्दुमा पनि जोखिम थियो आज २००० को लेभलमा पनि जोखिम छ। फरक यत्ति हो कि बजार माथिल्लो एरियातिर रहँदा जोखिम धेरै हुन्छ भने तल्लो एरियामा रहँदा जोखिम कम हुन्छ। लगानीकर्ताले आफ्नो जोखिम उठाउन सक्ने क्षमताको राम्ररी ख्याल गरेर मात्र सेयर कारोबार गर्नु उचित हुन्छ। अहिले बजार अन्डरभ्यालुड छ कि ओभरभ्याल्युड छ भन्ने कुरालाई क्यालकुलेसन गर्दै बजारको आगामी यात्रा कस्तो हुनसक्छ भन्ने कुराको सटिक अनुमान गरेर लगानी गर्नसक्ने लगानीकर्ताले नै बजारमा जित्ने गरेको इतिहास छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको