Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्सका अध्यक्षको खाताबाट २७ लाख कित्ता गायब, कहाँ हरायो सेयर ?

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, १५ : ४७ मा प्रकाशित

शिवम् सिमेन्ट्सका अध्यक्षको खाताबाट २७ लाख कित्ता गायब, कहाँ हरायो सेयर ?

शिवम् सिमेन्ट्स संचालक समितिका अध्यक्ष सुरेन्द्रकुमार गोयलको स्वामित्वमा रहेको सेयर संख्या घटेको पाईएको छ। कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन अनुसार गोयलको स्वामित्वमा ४६,४६,४०० कित्ता प्रोमोटर सेयर रहेको थियो। तर अहिले निज गोयलको स्वामित्वमा १९,०२,५०० कित्ता सेयर मात्रै छ। गोयलको स्वामित्वबाट २७,४३,९०० कित्ता सेयर घटेको हो। कम्पनीले आईपीओ जारी गर्दाको बखत धितोपत्र बोर्डमा बुझाएको विवरण पत्रमा पनि गोयलले ४६ लाख ४६ हजार चार सय कित्ता सेयर धारण गरेको उल्लेख गरिएको छ। 

शिवम् सिमेन्टको विशेष साधारण सभाः यसरी बनाईँदैछ प्रोमोटरलाई बजारमा खेल्न थप सहज !

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा संस्थापक सेयरधनीहरुले धारण गरेको सेयर संख्या उल्लेख गरेको थियो। तर पछिल्ला प्रतिवेदनहरुमा यो तथ्यलाई लुकाईएको छ। कम्पनी ऐन २०६३ को दफा १०९ उपदफा ४ अनुसार कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमा संस्थापक सेयरधनीहरुले धारण गरेको सेयरको विवरण अनिवार्य रुपमा उल्लेख गरिनुपर्दछ। तर शिवमले कम्पनी ऐनको समेत उपहास गर्दै संस्थापक सेयरधनीहरुले धारण गरेको सेयरको विवरण उल्लेख गर्न आवश्यक ठानेन। 

२०७५ फाल्गुनमा सर्वसाधारणलाई आईपीओ जारी गरेको शिवम् सिमेन्ट्सको ३ करोड ८५ लाख कित्ता प्रोमोटर सेयरको लक् इन २०७८ को फाल्गुन २२ गते खुलेको थियो। साधारण सेयर सरह बिक्रि गर्न मिल्ने भएपछि प्रोमोटरहरुले ठूलो कित्ता सेयर बेच्दा शिवमको सेयरमूल्य लगातार घट्दो ट्रेन्डमा छ। लक् इन खुल्दाको बखत प्रति कित्ता ११०० रुपैयाँको आसपास रहेको शिवम् सिमेन्ट्सको मूल्यमा उच्च गिरावट आई यो समाचार तयार पार्दाको समयमा ५३० रुपैयाँ प्रतिकित्तामा झरेको छ।  

शिवम् सिमेन्ट प्रकरणः नियामक बिनाका कम्पनी ‘लगाम बिनाकाे घोडा’ जस्तै !

अर्थसंसारले यसअघि कसरी शिवम् सिमेन्ट्सका प्रोमोटरहरु सेयर बेचेर भाग्दैछन् भन्ने विषयमा समाचार लेखेको थियो। 

कम्पनीले आईपीओ जारी गरेदेखि अहिलेसम्म सुरेन्द्रकुमार गोयल नै कम्पनीका अध्यक्ष छन्। धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम ३८ को १(क) अनुसार संगठित संस्थाको संचालक, कार्यकारी प्रमूख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमामा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सम्बन्धित संगठित संस्था वा सो को सहायक कम्पनीको धितोपत्र खरिद वा बिक्रि गर्न पाईदैन। देहाएका व्यक्तिहरु आफूले मात्र नभई निजहरुका परिवारका सदस्य, परिवारका सदस्यहरुको नियन्त्रणमा रहेका कम्पनी वा फर्म समेत त्यस्तो कार्यमा संलग्न हुन पाईदैन। 

शिवम् सिमेन्टमा इन्साइडर ट्रेडिङ्ग; वित्तिय विवरणमा जालझेलको गन्ध !

निज गोयलको नाममा रहेको उक्त २७ लाख कित्ताभन्दा बढी सेयर दोश्रो बजारमार्फत बिक्रि भएको हो वा स्वामित्व अन्य कसैको नाममा ट्रान्सफर भएको हो भन्ने विषयमा अर्थसंसारले अध्ययन गरिरहेको छ। गोयलले उक्त सेयर दोश्रो बजारमार्फत बिक्रि गरेको भए त्यो सरासर गैरकानुनी हुन जान्छ। यदि गोयलको नामबाट उक्त सेयर उनको परिवारको कुनै सदस्यको नाममा ट्रान्सफर गरी सो व्यक्तिको नामबाट दोश्रो बजारमा कारोबार भएको अवस्थामा पनि सो कार्य कानुन विपरित हुनेछ। सम्पूर्ण विवरणसहितको समाचार केहि समयपछि अर्थसंसारमा...... 

भिडियाे हेर्नुहाेस् :

शिवम् सिमेन्ट: प्रोमोटरको जालझेल, कम्पनीमा पस्ने लगानीकर्तालाई यसरी बनाइयो जोकर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको