Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तको ज्यादतीविरुद्ध पीडितहरू संगठित, चर्को ब्याजका कारण घरबार नै बिग्रन थालेपछि नाराबाजी गर्न बाध्य

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १० : ४७ मा प्रकाशित

लघुवित्तको ज्यादतीविरुद्ध पीडितहरू संगठित, चर्को ब्याजका कारण घरबार नै बिग्रन थालेपछि नाराबाजी गर्न बाध्य

मधेश प्रदेशको बारा जिल्लामा लघुवित्त संस्थाबाट पीडित भएकाहरूले लघुवित्त संस्थाको ज्यादतीविरुद्ध संगठित हुँदै गएको छ । लघुवित्तको चर्को ब्याजका कारण घरबार नै बिग्रन थालेपछि पीडितहरू लघुवित्त संस्थाविरुद्ध प्रदर्शन गर्न थालेका हुन् ।

बारामा एकै व्यक्तिलाई समुह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेको पाइएको छ । पैसा तिर्न नसकेपछि घरमै आएर धाक-धम्की दिन थालेपछि पीडितहरू संगठित हुन थालेका हुन् । उनीहरूले लघुवित्त संस्था खारेज गर ऋणी मार्ने काम बन्द गरजस्ता नारा लगाउने गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छिन् । उनले १ लाखको ऋण लिँदा लघुवित्त संस्थाले ५ लाखसम्म ऋण भएको र ब्याजसहित ५ लाखसम्म ऋण लिने गरेको बताएकी छिन् ।

पटक–पटक किस्ता तिरे पनि साँवा रकम कहिल्यै पनि नघट्ने गरेको उनकाे भनाइ छ । ‘समुह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बिमा, आपतकालीन सेवा शुल्क गरेर १० हजार काट्छन् । ऋणीको रकम हातमा ९० हजार पुग्छ,’ लघुवित्तबाट पीडित बनेकी जीतपुरका राम कोशिला देवीले रूँदै भनिन्, ‘मेरो छोराले जति कमाएर ऋण तिरे पनि बैंकले आएर घरमा रहेको गाडी लिएर गयाे । दैनिकी गुजारा गर्न पनि समस्या भएको छ । छोरा डरले सधैं राति मात्रै घर आउँछ ।’

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या हजारौं रहेको रहेको छ । लघुवित्त र सहकारीको ऋण मिटरब्याज भन्दा कम छैन । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरूष विदेशिएका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिकाकी मिना विश्वकर्मा यतिबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छिन् । एक वर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ ।

आफ्नो नाममा एकधुरसमेत जमिन नभएकी मिना विश्वकर्मा ऐलानी जग्गामा साना घर बनाएर बसेका छिन् । उनी कहिले लेबर काम गर्छिन् भने कहिले दाउरा बेच्न सदरमुकाम कलैया र नयाँ बस्ती जान्छिन् । लघुवित्तबाट कर्मचारी घरमा आउँदा जसरी भए पनि पैसा तिर्न मानसिक तनाव दिने गरेको समेत उनी बताउँछिन् ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादन क्षेत्रमा ऋणको दुरूपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादतीविरूद्धकाे संघर्ष कमिटि संयोजक कमलेश साह बताउँछन् ।

‘छिटोछिटो ब्याजसमेत साँवामा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो भन्ने ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि साँवामा जोड्यो भन्छन् । ‘ऋण कति पुग्यो भन्नेबारे ऋणीहरूलाई थाहा नै हुँदैन,’ उनले भने ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको