Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीहरुको पूँजी वृद्धिको म्याद सकिँदै, यी कम्पनीले पाउँदैछन् हकप्रद निष्कासनको अनुमति

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १८ : ०० मा प्रकाशित

बीमा कम्पनीहरुको पूँजी वृद्धिको म्याद सकिँदै, यी कम्पनीले पाउँदैछन् हकप्रद निष्कासनको अनुमति

नेपाल बीमा प्राधिकरणकाे गत चैत्र १० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० कराेड पुर्याउन निर्देशन दिएकाे थियाे । 

बीमा प्राधिकरणले २०७९ साल चैत्र मसान्तसम्ममा ताेकिए अनुसारकाे पूँजी कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने निर्देशन दिएकाे थियाे । बीमा प्राधिकरणले पूँजी बढाउनका लागि दिएकाे समय अब सकिनै लागेकाे छ । 

याे बीचमा पूँजी पुर्याउनका लागि कति कम्पनी मर्जरमा गइसकेका छन् । 

मर्जर राेजेका जीवन बीमा कम्पनी

साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्ज भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार सुरू गरिसकेका छन् । यी दुई कम्पनी मर्ज भएपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

यी बाहेक प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि मर्जरमा जाने सम्झौता गरिसकेका छन् । 

मर्जर राेजेका निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीकाे कुरा गर्नुपर्दा हालसम्म १२ वटा निर्जीवन बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका छन् ।

जसमध्ये हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर पश्चात् हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकाे नामबाट साउन १ गतेदेखि एकीकृत कारोबार सुरू गरेका हुन् । यस्तै,  सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गतेदेखि सानिमा जीआईसीको नामबाट एकीकृत कारोबार सुरू गरेका छन् ।

 यी बाहेक मर्जर सम्झौता गरिसकेका प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले भने एकीकृत कारोबार सुरू गरिसकेका छैनन् । 

यता याे बीचमा प्रभु र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको मर्जर सम्झौता टुट्याे । प्रभुसँग मर्जर टुटेसँगै अजोडले रातारात युनाइटेडसँग मर्जरमा जाने सम्झाैता गरिसक्याे । प्रभु इन्स्याेरेन्स भने अझै पनि मर्जरका लागि पार्टनरकाे खाेजीमा छ ।

मर्जरपछि पनि पूँजी नपुग्ने बीमा कम्पनी (यी कम्पनीले पाउनेछन् हकप्रद अनुमति)

पूँजी वृद्धिका लागि मर्जर प्रकृयामा गएपनि कति वटा कम्पनीकाे भने मर्जरपछि पनि ताेकिएकाे पूँजी पुग्दैन ।  ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज भएपछि एक बनेकाे सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे मर्जर भएपश्चातकाे चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कम्पनीले अझै ४६ करोड रुपैयाँ पूँजी थप्नुपर्नेछ । 

यसैगरी,  हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज भएपछि बनेकाे हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि मर्जर र बाेनसपश्चात् पूँजी बढाउनु पर्नेछ । २.८९ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड पुग्नेछ । बीमा प्राधिकरणले ताेके बमाेजिम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन कम्पनीलाई अझै १९ करोड ८४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

त्यस्तै, साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक भएपछि बनेकाे सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि मर्जरपछि पनि पूँजी पुगेको छैन । हाल सानिमा जीआईसी कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले अझै ५० करोड रुपैयाँ पूँजी थप गर्नुपर्नेछ ।

प्रकृयामा नगएका कम्पनी

पूँजी वृद्धि गर्ने समय ढल्कँदै जाँदा पनि केही कम्पनीले भने पूँजी वृद्धिकाे कुनै प्रकृया अघि सारेका छैनन् । जस्तै की लाइफतर्फ एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र नन लाइफतर्फ एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले हालसम्म पूँजी वृद्धिकाे प्रकृया अघि सारेका छैनन् ।

आउला त हकप्रद, के भन्छ बीमा प्राधिकरण ?

बीमा प्राधिकरणका अनुसार मर्जरपश्चात् पनि प्राधिकरणले तोकिएको पूँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरुले हकप्रद निष्कासन गर्न पाउनेछन् । प्राधिकरणले मर्जरमा गएका तथा पूँजी पुर्याउन नसकेका कम्पनीहरुलाई हकप्रद निष्कासन गर्न दिने निर्णय गरेकाे छ । त्यस्तै, पूँजी वृद्धिका लागि कुनै पनि प्रकृया अघि नबढाएका कम्पनीहरुलाई भने हकप्रद सेयर जारी गर्न दिइने छैन । पूँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरु भने कारबाहीमा पर्ने प्राधिकरणले जनाएकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको