Like us!
Follow us!
Connect us!
Watch us!

के हो ‘म्युचुअल फण्ड’ ? साना लगानीकर्ताका लागि कति सुरक्षित

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १६ : ४३ मा प्रकाशित

के हो ‘म्युचुअल फण्ड’ ? साना लगानीकर्ताका लागि कति सुरक्षित

म्युचुअल फण्ड अर्थात् सामुहिक लगानी कोष नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरुमध्ये एक हो । यस फण्डअन्तर्गत सञ्चालित योजनाहरू एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । म्युचुअल फण्ड दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने भएकाले उक्त औजारहरुको संख्या बढ्दो रुपमा देखिएको छ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) नियमावली २०६७ को प्रावधानमा रहेअनुसार संगठित संस्थाले सर्वप्रथम सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि म्युचुअल फण्ड दर्ता गर्न सकिन्छ र यसअन्तर्गत विभिन्न म्युचुअल फण्ड योजनाहरू सञ्चालनको स्वीकृति लिई सञ्चालन गर्न सकिन्छ । म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजनाहरु बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन् । 

के हो खुलामुखी योजना ? यसलाई कसरी सञ्चालन गरिन्छ ? 

विभिन्न प्रकारका म्युचुअल फण्ड योजनाहरूमध्ये खुलामुखी योजना पनि एक हो । यस्ता योजनाहरू स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन् र यसका इकाईहरू दैनिक रूपमा निर्धारण हुने प्रति इकाई खुद सम्पत्ति मूल्यमा लगानीकर्ताहरूले आफूले चाहेको समयमा योजना व्यवस्थापक वा तोकिएको वितरकहरूमार्फत् सजिलै रूपमा खरिद–बिक्री गर्न सक्ने व्यवस्था रहेको हुन्छ जसले गर्दा खरिदकर्ता र बिक्रीकर्ता खोजि गर्नका लागि लगानीकर्तालाई सहज हुन्छ । यस्ता योजनाहरूको आकारसमेत थपघट भइरहने हुन्छ । यदी लगानीकर्ताहरूले इकाईहरू खरिद गरेमा योजनाको आकार बढेर ठूलो हुँदै जान्छ भने बिक्री गरेमा योजनाको आकार घटेर सानो हुँदै जान्छ । यसका साथै निश्चित समयमा परिपक्क नभई निरन्तर सञ्चालनमा भैरहन्छ । यस योजनामा एकपटक प्राथमिक बजारमा निष्कासन गरिसकेपछि इकाईहरूको खरिद तथा बिक्रीको अनुपातमा योजनाको आकार पनि परिवर्तन हुने हुन्छ ।

के हो बन्दमुखी योजना हो ?

सर्वसाधारणमा इकाई निष्कासन गर्दा नै उक्त फण्ड कति समयका लागि सञ्चालन हुने भन्ने तोकिएको हुन्छ । सर्वसाधारणमा प्रतिइकाई १० दरले इकाई निष्कासन हुन्छ । सर्वसाधारणमा इकाई निष्कासन भएपछि दोस्रो बजारमा कारोबारका लागि फण्डका इकाईहरू सूचीकरण गराइन्छ । बन्दमुखी योजनाले निश्चित संख्यामा तोके बमोजिमको ईकाई सामान्यतः तीनदेखि १५ वर्षसम्मको समयको लागि जारी गर्ने गर्छन् । बन्दमुखी योजना स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने हुँदा यसको बजारमूल्य बजारमा रहने माग र आपूर्तिको आधारमा हुन्छ भने खुलामुखी योजनाको हकमा योजना व्यवस्थापकले दैनिक रूपमा गरिएको खुद मूल्यको गणनाको आधारमा कारोबार मूल्य निर्धारण गर्छ । 

म्युचुअल फण्डका फाइदा ?

म्युचुअल फण्डमा लगानी न्युनतम एक हजार रुपैयाँमा लगानीको सुरुवात गर्न सकिने भएकाले स–साना लगानी कर्ताले पनि यसबाट फाईदा लिन सक्छन् । प्रोफेसनल व्यवस्थापकद्वारा व्यवस्थापन गरिने, पारदर्शी हुने, न्युन कारोबार शूल्क र सानै स्रोतबाट लगानी गर्न सकिने हुँदा नयाँ लगानीकर्ता, सेयर बजारको घटबढका बारेमा जानकारी नभएका साना लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड फाइदाजनक मानिन्छ । यस्ता म्युचुअल फण्डहरु लगानीको विविधिकरण र कर सुविधाका साथमा सहजै र छिटो किनबेच गर्न सकिने भएकाले पनि लगानीको सुरक्षित क्षेत्र मानिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको