आदरणिय गभर्नर महाप्रसाद अधिकारीज्यू, नमस्कार ।
विगत ३ बर्ष ५ महिना देखि तपाईं नेपाल राष्ट्र बैंकको नेतृत्वमा हुनुहुन्छ र देशको ढुकुटीको जिम्मा लिएर बस्नु भएको छ । देशको ढुकुटीको जिम्मा लिएर बस्नेका लागि राज्यले प्रदान गर्ने सेवासुविधा र मानसम्मानको उपभोगले तृप्त नै हुनुहुन्छ भन्ने लाग्दछ । सार्वजनिक मञ्चमा देखिने तपाईंको हाउभाउले पनि तृप्तिको अनुभूतिलाई झल्काई नै रहेको पाईन्छ ।
अब यि व्यक्तिगत कुरा छोडेर पत्रको लेख्नुको मूल उद्देश्य तर्फ जाउँ । यस पत्रमा तपाईंको हालसम्मको कार्यकालमा तपाईंको कार्यक्षमता एवं कार्यशैली प्रति एक आम नेपालीले अनुभूत गरेको केहि प्रश्न तथा अनुभुतिहरुको उठान गरेको छु ।
गभर्नरज्यू,
तपाईंले आ. व. २०७७/७८, २०७८/७९, २०७९/८० र २०८०/८१ गरी चारवटा मौद्रिक नीति ल्याउनु भयो । आ. व. २०७७/७८ को मोद्रिक नीति अत्यन्तै खुकुलो र विस्तारकारी रहेको थियो । कोभिडको समयमा अर्थतन्त्रलाई चलायमान गराउने नाममा आवश्यकताभन्दा बढी नै खुकुलो र विस्तारकारी नीतिका कारण अर्थ नीति भन्दा मौद्रिक नीति उदार रहेको भनेर वाहवाही पनि पाउनु भयो । तर लगत्तै पछिल्लो वर्षमा अघिल्लो वर्षको मौद्रिक नीतिका कारण बाह्य एवं समग्र वित्तीय स्थायित्वमा नै चुनौति सिर्जना भएको भनी अत्यन्तै कसिलो र संकुचनकारी मौद्रिक नीति जारी गर्नु भयो । जुन चालु आर्थिक वर्षसम्म पनि कायम छ ।
यसरी एक वर्षमै मौद्रिक नीतिमा झण्डै १८० डिग्रीको परिवर्तन हुनुमा देशको आवश्यकता भन्दा पनि राजनीतिक वातावरणमा भएको परिवर्तन मुख्य कारण हो भनी आम नेपालीको बुझाई रहेको पाइन्छ । पछिल्लो समय अर्थमन्त्रालय र तपाईंका बीच देखिएको द्वन्द्वले त यसको पुष्टि नै गरेको छ भन्न सकिन्छ । भलै तपाईं र तपाईं सम्बद्ध व्यक्तिहरुले यसलाई राष्ट्र बैंकको स्वायत्ततासँग जोड्ने गर्नुभएको छ । कारण जे भएपनि मौद्रिक नीति जस्तो सम्वेदनशील नीतिलाई यति धेरै उद्वेलित र त्रासद बनाउने परम्पराको थालनी किन गर्नु भयो ? तपाईं मान्नुहोस् या नमान्नुहोस्, आ. व. २०७७/७८ को अत्यन्तै खुकुलो र विस्तारकारी र त्यस पछिका अत्यन्तै कसिलो र संकुचनकारी मौद्रिक नीति दुवै देशको आवश्यकताको उपज थिएन । यसको पुष्टि यि मौद्रिक नीति पछिको आर्थिक वातावरणमा देखिएका नतिजाले पुष्टि गरिसकेका छन् ।
गभर्नरज्यू,
त्यसै गरी तपाईंले सार्वजनिक मञ्चहरुमा वित्तीय क्षेत्रमा प्रणालीगत जोखिम बढ्दै गएको भनी सार्वजनिक अभिव्यक्ति दिंने गर्नुभएको छ । लामो समयदेखि आफू स्वयं वित्तीय प्रणालीको नियमन, नियन्त्रण र अनुगमनकर्ता भएर बसीरहँदा वित्तीय क्षेत्रमा बढ्दै गएको प्रणालीगत जोखिमको कारण तपाईंको नेतृत्व नै हो कि होइन ? कि तपाईंको कार्यकाल भन्दा पहिले नै अत्याधिक जोखिम थियो र त्यसलाई कम गर्न तपाईंले काम गर्दै गर्दा पनि जोखिमको सघनता अझै धेरै भएको हो ? कि तपाईंको असक्षमता र अदुरदर्शीताको परिणाम स्वरुप जोखिम बढ्दै गएको हो ? राष्ट्र बैंक जस्तो स्रोत साधनले सम्पन्न निकायमा बसेर न्युनतम नतिजा पनि दिन नसक्नु तपाईंको कमजोरी पो हो कि ? कि मनशाय नै हो ? यसमा हामी प्रष्ट उत्तर चाहन्छौं ।
पछिल्लो समयमा तपाईंले वित्तीय स्थायित्वको नाममा प्रतिबन्ध, अधिनियन्त्रण र सुक्ष्म व्यवस्थापनलाई प्रयोग गरिरहनु भएको छ । यति महत्वपूर्ण व्यवस्थापकिय जिम्मेवारीमा रहेर पनि प्रतिबन्ध, अधिनियन्त्रण र सुक्ष्म व्यवस्थापन जस्ता सस्ता र घातक अस्त्र प्रयोग गर्नुले तपाईंको रचनात्मकता र कार्यक्षमता माथि पनि प्रश्न उठ्दैन र ? जग जाहेर छ कि, प्रतिबन्ध, अधिनियन्त्रण र सुक्ष्म व्यवस्थापन जस्ता कार्य रचनात्मक विकल्पको अभावका प्रयोग गरिने अस्त्र मात्र हुन् । यिनले समस्याको समाधान दिनेभन्दा पनि समस्यालाई केहि समय थाँती राख्ने वा नयाँ स्वरुपमा बदल्ने काम गर्दछ । जुन अहिले नेपालमा पनि भइरहेको छ । यदि कुनै रचनात्मक र अर्थपूर्ण काम गर्न सकिंदैन भने पदमात्र ओगट्ने र देशको अर्थव्यवस्थालाई अँध्यारोतर्फ धकेल्ने काम किन गरिरहनु भएको छ रु तपाईंका कारण समग्र देशले गुमाएको अवसरको मूल्यबारे अलिकती पनि हेक्का राख्नु भएको छ ? कि राष्ट्र बैंक तपाईंको अवकास जीवनको व्यवस्थापन गर्ने उन्नत विकल्प मात्र हो ?
गभर्नरज्यू,
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ मा बैंकको उद्देश्य उल्लेख गर्दै उपदफा १ (क) मा “आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र सोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने” भनिएको छ ।
तपाईंको बुझाइमा, यहाँ उल्लेख गरिएको “आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास” भन्नाले के हो ? अनि, सामान्यतया यो कसरी प्राप्त हुन्छ रु के तपाईंले आजसम्म तर्जुमा गर्नु भएको नीतिहरु राष्ट्र बैंकको यो उद्देश्य लक्षित छन् त ?
आम रुपमा हेर्दा त तपाईंले आजसम्म तर्जुमा गर्नु भएको नीतिहरु राष्ट्र बैंकको यो उद्देश्यको विरुद्धमा देखिन्छन् । किनकी तपाईंको नीतिले “अर्थव्यवस्थाको पूर्वानुमानयोग्यता”भन्ने विशेषतालाई नै नष्ट गरिदिएको छ । अब आम मानिसले अर्थव्यवस्थाको गति तथा दिशालाई पूर्वानुमान गरी आफ्नो आर्थिक व्यवहारलाई योजना गर्न नसक्ने भएका छन् ।
त्यसै गरी तपाईंको नीतिले राष्ट्र बैंकको वासलात त गहकिलो बनाएको छ तर राज्यको ढुकुटी खोक्रो हुँदै गएको छ । एकातिर, तपाईंको नीतिका कारण राज्यमा व्यावसायिक वातावरण विग्रीएर राजस्वमा ऐतिहासिक कमी आएको छ भने अर्कोतिर, ट्रेजरी बिलको मूल्य उच्च हुँदा राज्यले महङ्गो मूल्यमा सार्वजनिक ऋण लिन बाध्य हुनु परेको छ ।
तपाईंको नीतिकै कारण उद्यमी, व्यावसायीको वित्तीय स्रोतको लागत उच्च भएको छ, जसले उत्पादनको लागतलाई बृद्धि गराई महङ्गी बढाउन भूमिका खेलिरहेको छ । आन्तरिक अर्थतन्त्रलाई मृततुल्य बनाएको छ । देशलाई आर्थिक शिथिलताबाट अझै धकेलेर गम्भिर आर्थिक संकटको खाडलमा नै पुराउन लागेको छ ।
अब भन्नुहोस् नेपाल राष्ट्र बैंक ऐनको उद्देश्यको नै खिलाफ हुने गरी काम गर्न किन उद्यत हुनुभएको छ ? के देश भित्रका कुनै अर्थविद्, पूर्व अर्थमन्त्रि, पूर्व गभर्नर, सरकार, प्रतिपक्ष वा उद्योगी व्यावसायीले तपाईंको नीतिलाई समर्थन गरेका छन् ? आखिर कसलाई रिझाउन र कसको हित गर्नका लागि देशको अर्थव्यवस्थामाथि नै खेलवाड गर्दै हुनुहुन्छ ?
आदरणिय गभर्नरज्यू,
हालै विभिन्न सञ्चारमाध्यम मार्फत तपाईंले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संगठनको इसारामा काम गरिरहनु भएको तथ्यहरु बाहिरिरहेका छन् । यसरी बाह्य संगठनको इसारामा देशको आवश्यकता भन्दा बाहिर गएर काम गर्नुको पछाडिको कारण के हो ? यसका पछाडि तपाईंका व्यक्तिगत लाभका विषयहरु पो छन् कि ? अनि, सार्वजनिक जिम्मेवारीमा बसेर व्यक्तिगत लाभ हेर्ने कि आम सरोकारको विषयलाई प्राथमिकता दिने हो? तपाईंले ति अन्तर्राष्ट्रिय संगठनका रणनीतिक चासोलाई मात्र सम्बोधन गर्न तिनका आदेशलाई पालना गर्दै गर्दा यहाँका उद्योगी, व्यावसायी र आम जनताले भोग्नुपरेको क्षतिको भर्पाइ कसले गरिदिन्छ ? हुन त तपाईंले यसरी अन्तर्राष्ट्रिय संगठनका रणनीतिक चासोलाई मात्र सम्बोधन गर्नुलाई राष्ट्रिय आवश्यकताको रुपमा व्याख्या गर्न पनि सक्नुहुनेछ । तर आम नागरिक र समस्त उद्योगी तथा व्यावसायिक जगतलाई असहज बनाउने मात्र नभई मर्न बाध्य बनाउने कदम कसरी राष्ट्रिय आवश्यकता हुन सक्दछ ? कि तपाईंले बुझेको अर्थव्यवस्था र आम नेपाली जगतले अभ्यास गर्दै आएको अर्थव्यवस्था फरक हो ? वा तपाईंले बुझेको अर्थव्यवस्था सहि र आम नेपाली जगतले अभ्यास गर्दै आएको अर्थव्यवस्था गलत हो ?
अन्तमा, यो पत्र लेखेर तपाईंसँग आम नेपालीले सोध्न चाहिरहेको केहि प्रश्नहरु र भन्न चाहेका केहि अभिव्यक्तिहरुको प्रतिनिधित्व गरेको छु । हुन त तपाईंलाई यस्ता अभिव्यक्ति र प्रश्नहरुको खासै वास्ता हुँदैन । यिनको जवाफ दिनु त टाढाको कुरा, यिनका बारेमा सोच्नेसम्म पनि तपाईंको प्राथमिकतामा पर्दैन । तर यहाँ एउटा विषय स्पष्ट हुनुहोस् कि, जब सार्वजनिक जिम्मेवारीमा बसेको मानिसले जिम्मेवारी पनि पूरा गर्न सक्दैन र सार्वजनिक प्रश्नहरुप्रति जवाफदेहि पनि बन्दैन तब उसले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्दछ । उदाहरणका लागि श्रीलङकामा सन् २०२२ मार्चमा भएको नागरिक आन्दोलनको कारणबारे अध्ययन गर्नुहोला ।
तपाईंलाई यसरी प्रश्न तथा अनुभूतिहरु राख्दै गर्दा कतै म आफैंले पो अर्थशास्त्र र अर्थव्यवस्था नबुझेको हो कि भनी बारम्बार आफैंलाई पनि प्रश्न गरी हेरें । तर मैले बुझेको अर्थशास्त्र र अर्थव्यवस्था, तपाईंले तर्जुमा गरेको नीतिद्वारा निर्देशित अर्थशास्त्र र अर्थव्यवस्था भन्दा अत्यन्तै भिन्न पाएकाले यसमा स्पष्टता खोजेको छु । तसर्थ तपाईंले उपभोग गरिरहेको सेवा सुविधामा मेरो पसिनाको पनि अंश छ भन्ने कुरा मनन गरी यस विषयमा आम रुपमा प्रष्ट्याईदिनुहुन अनुरोध पनि गर्दछु ।
अहिले लाई यति नै । धन्यवाद ।
उहि तपाईंद्वारा प्रताडित,
आम नेपाली
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस