Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको सेयरमा तिब्र चलखेल, भित्री सूचना दिएर खुलेआम ठगी धन्दा !

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १३ : ४४ मा प्रकाशित

गोर्खाज फाइनान्सको सेयरमा तिब्र चलखेल, भित्री सूचना दिएर खुलेआम ठगी धन्दा !

पछिल्लो समय गोर्खाज फाइनान्सको सेयरमा धितोपत्र बजारमा तिब्र चलखेल भएको तथ्य बाहिरिएको छ । चलखेल गरेर तीन हप्तामा कम्पनीको सेयर मूल्य शतप्रतिशतभन्दा बढीले उचालिएकाे छ।

पछिल्लो समय नेपालमा धितोपत्र बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल बढिरहेको देखिन्छ । कुनै निष्चित समूहले आफ्नो निहित स्वार्थ पूर्तीका लागि चलखेल गरेर नयाँ लगानीकर्ताहरुलाई बजारमा फसाउने प्रबृति गोर्खाज फाइनान्समा देखिएकाे जानकारहरु बताउँछन् ।

इन्साइड इन्फरमेसनका नाममा लगानीकर्ताहरुको इनबक्समा कम्पनीले बम्पर लाभांश बितरण गर्न लागेको, कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको र कम्पनी अन्य कुनै राम्रो कम्पनीहरुमा मर्ज हुन लागेका भन्दै म्यासेज पठाउने गरेको पाइएको छ ।

हिजो आज बिभिन्न स्रोतहरुबाट गोर्खाज फाइनान्सको पनि त्यस्तै म्यासेज लगानीकर्ताहरुको इनबक्समा आउन थालेको छ । आज मात्र गोर्खाज फाइनान्स पाल्पा विकास बैंकसंग मर्जमा जाने, फाइनान्सले ४० प्रतिशत बोनस बितरण गर्ने र बैंकले १ः१ को अनुपातमा हकप्रद जारी गर्नेछ, जसले गर्दा बैंकको चुत्ता पूँजी २८० करोड पुग्ने छ र बैंकको सेयर मूल्य छिट्टै ८०० पुग्ने भन्ने व्यहोराको म्यासेज सामाजिक सञ्जालमा आदान प्रदान भइरहेको छ ।

सामाजिक सञ्जालको म्यासेज बक्समा भाइरल भइरहेका म्यासेजमा गोर्खाज फाइनान्ससंग मर्जरमा जाने भनिएको पाल्पा विकास बैंक अहिलेसम्म अस्तित्वमा नै नभएको बैंक हो । पाल्पा विकास बैंक नाम गरेको कुनै पनि बित्तिय संस्थाले हालसम्म नेपाल राष्ट्र बैंकबाट अनुमति लिएको पाइदैन ।

करिब ३ साताअघि मात्र १९५ रुपैयामा कारोबार भएको फाइनान्सको सेयर मूल्य यति छोटो समयमा नै यति धेरै बढ्नुलाइ सामान्य रुपमा हेर्न नसकिने तर्क सेयर बजार बिष्लेशकहरुको छ । कम्पनीले औपचारिक रुपमा कुनै मर्जरको बिषय बाहिर ल्याएको छैन, अहिलेसम्म कम्पनीको कुनै हकप्रद सेयर वा बोनश सेयर वितरणको पनि कुनै प्रस्ताव नआएको अवस्थामा सेयर मूल्य आकासिनुलाई संयोग मान्न सकिने अवस्था देखिदैन ।

गाेर्खा फाइनान्सकाे सेयर मूल्य बढाउन कम्पनीका उच्च तहमा रहेका ब्यक्तिहरू नै संलग्न रहेकाे पाइएकाे छ । यही हल्लाले गर्दा विहिबार कम्पनीकाे सेयर बेच्नेहरू भएनन् । सर्किट लागेकाे सेयर किन्न ५ लाख ५२ हजार कित्ता भन्दा बढीकाे अर्डर थियाे । यहाँ बाघ करायो र त्यहि बाघले नै बाख्रा खाएको जस्तो देखिन्छ ।

हाकाहाकी सामाजिक सञ्जालमा कम्पनीका बारेमा प्रचारप्रशार गरेर निहित समुहले कम्पनीको सेयरमा चलखेल गरेको स्पष्ट हुन्छ । केहि समय अघि पनि नेपाल पुनर्बिमा कम्पनीको सेयरमा पनि केही चलखेल भएको आशंका गरिएको थियो । कम्पनीले हकप्रद सेयर वितरण गर्ने हल्ला चलाएर कम्पनीको सेयर मूल्य बढाएका थिए ।

त्यसैगरी केहि हप्ता अघि एनसीसी बैंकको सेयरमा पनि चलखेलको प्रयास गरिएको थियो । एनसीसी बैंक नबिल बैंकसँग मर्जरमा जाने भन्ने हल्ला चलाइयो तर केहि समयपछि त्यो हल्ला बजारमै बिलायो । पुनः बजारमा सिद्धार्थ बैंक र नबिल बैंक मर्जरमा जाने हल्लाले बजार तातिएपछि सिद्धार्थ बैंकले आफू कुनै बैंकसंग मर्जरमा जाने र्निणय नभएको भनि विज्ञप्ति नै निकाल्नु पर्यौ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य पनि अहिले बजारमा नाटकीय ढंगले बृद्धि भइरहेको छ । पुस २८ गतेबाट कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ । पुस २८ गते कम्पनीको सेयर मूल्य ९.०५ प्रतिशत,२९ गते ९.८८ प्रतिशतले बृद्धि भयो र ३ दिन बजार बन्दनै रह्यो ।

तिन दिनपछि माघ ४ गते खुलेको बजारमा कम्पनीको सेयर मूल्य ४.६८ प्रतिशतले बृद्धि भयो,५ गते ९.९७ प्रतिशतले,६ गते १० प्रतिशतले र ७ गते ६.५३ प्रतिशतले कम्पनीको सेयर मूल्य बृद्धि भएको हो । बिहीबार कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले बृद्धि भएर ४१२ रुपैयाँ पुग्दा धितोपत्र बजारमा बिक्रेताको उपस्थिती भने सून्य देखियो ।

सामान्यतया कुनै कम्पनीको सेयर मूल्ये बढ्ने बिभिन्न कारणहरु हुन्छन् । जस्तो कम्पनीले धेरै लाभांश प्रस्ताव गरेमा,कम्पनीले हकप्रद सेयर जारी गर्ने भएमा कम्पनीको व्यवस्थापनमा कुनै सफल व्यत्तिको आगमन भएमा,कम्पनी अन्य कुनै बलियो कम्पनी संग मर्जर वा एक्विजिसनमा जाने भएमा वा कम्पनीको बित्तीय अवस्थामा व्यापक सुधार आयमा सामान्यतया कम्पनीको सेयर मूल्यमा उछाल आउने गर्दछ तर अहिलेसम्म गोर्खा फाइनान्सको भने यस्तो कुनै समाचार बाहिरिएको छैन ।

यसरी बजार हुने चलखेलका कारण बजारमा नयाँ नयाँ प्रबेश गरेका लगानीकर्ताहरु नराम्रो संग फस्ने अवस्था आउन सक्छ ।बजारमा यस्तो हल्ला चलाउनेहरुले निष्चित समय सम्म आफ्नो सेयर होल्ड गर्ने गर्छन र आफ्नो निष्चित नाफा आएपछी त्यस्ता कम्पनीको सेयर बिक्रि गरिदिन्छन् र नयाँ नयाँ लगानीकर्ताहरु पुनः कम्पनीको सेयर मूल्य बढ्ने आसमा त्यस्ता कम्पनीको सेयर खरिद गर्न पुग्छन् र नोक्सान व्यहोर्न पुग्छन् ।

सामाजिक सञ्जालको हल्लाको पछाडि लागेर सेयर बजारमा लगानी गर्दा कहिले काँहि क्षणिक फाइदा पुग्न सक्छ तर दिर्घकालिन रुपमा यसले आम लगानीकर्ताहरुलाई क्षति पुर्याउने हुँदा लगानीकर्ताहरुले कुनपनि कम्पनीमा लगानी गर्नुपुर्व सामाजिक सञ्जालको हल्ला हेर्नु भन्दा पनि कम्पनीको बित्तिय अवस्थाका बारेमा अध्ययन गर्नु जरुरी देखिन्छ ।

चन्द्रागिरी हिल्सको रिजल्ट अर्थ संसारमा, यसरी हुर्नुहोस् नतिजा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको