Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजारको सुधार र स्थायित्वको लागि कस्सिए अर्थमन्त्री, फटाफट काम अघि बढाउन निर्देशन

बसन्त पाण्डे

आइतबार, ११ बैशाख २०७९, १६ : २७ मा प्रकाशित

पूँजी बजारको सुधार र स्थायित्वको लागि कस्सिए अर्थमन्त्री, फटाफट काम अघि बढाउन निर्देशन

गत बुधबार धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्जका सीईओलाई आफ्नो कार्यकक्षमा डाकेर अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारको सुधार र विस्तारको लागि गर्नुपर्ने कामहरु किन अघि बढ्न सकेनन भनेर प्रश्न गरे। आफूले पुँजीबजारको विकास र सुधारलाई प्राथमिकतामा राखेको बताउँदै के के गर्नुपर्ने हो फटाफट काम अघि बढाउन  निर्देशन दिए। 

युद्धस्तरमा काम गर्न अर्थमन्त्रीले निर्देशन दिएपश्चात धितोपत्र बोर्ड र नेप्से तातिएका छन। अर्थमन्त्रीले कडा रुपमा निर्देशन दिएपछि बिहिबार नेप्से र ब्रोकर एसोसियसनका पदाधिकारीहरुबीच ब्रोकर मार्फत मार्जिन लोन प्रवाह गर्ने कुरालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भयो। यसअघि मार्जिन लोनसम्बन्धी कार्यविधिमा रहेका कतिपय बुँदाहरुलाई संसोधन गरिनुपर्ने ब्रोकर एसोसियसनको मागलाई २०७८ जेठमै धितोपत्र बोर्डले पूरा गरिदीई सो फाइल नेप्सेमा थन्किएर बसेको थियो। सो सम्बन्धमा जानकारी पाउने बित्तिकै नेप्सेका सीईओले आवश्यक छलफलको लागि ब्रोकरहरुलाई डाकेको र मार्जिन लोनलाई कसरी सहज रुपमा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा घनिभूत छलफल भएको स्टक ब्रोकर एसोसियसनका अध्यक्ष सन्तोष मैनालीले अर्थसंसारलाई जानकारी दिए।  उनका अनुसार लोन प्रवाह गर्न ब्रोकरहरुले स्रोत कसरी जुटाउने भन्ने अहिलेको प्रमुख समस्या हो। 'मार्जिन लोन प्रवाह गर्दा ग्राहकहरुसँग धितोस्वरुप लिईएको सेयरलाई बैंकमा धितो राखी कर्जा लिन पाउनुपर्छ भन्ने हाम्रो माग हो। अघिल्लो अध्यक्षको पालामा पनि यो विषयमा छलफल भएको थियो तर त्यतिबेला धितोपत्र बोर्ड यो विषयमा त्यती सकारात्मक देखिएन। अब फेरी यो विषयलाई सम्बोधन गरियोस भनेर एउटा पत्र धितोपत्र बोर्डमा पठाउने योजनामा छौं। पक्कै केहि न केहि सोलुसन निस्किनेछ भन्नेमा आशावादी छौ।' उनले थप स्पष्ट पारेका छन।  

सेयर धितोकर्जालाई ४/१२ करोडको सिमामा बाधिएकोमा पनि अर्थमन्त्री सन्तुष्ट नरहेको र यस विषयलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा खाका तयार गर्न आफ्ना सल्लाहकारहरुलाई निर्देशन दिईसकेको जानकारी विश्वस्त स्रोतबाट प्राप्त भएको छ।  बैंकिंग प्रणालीको कुल कर्जाको दुई प्रतिशत मात्रै सेयर धितो कर्जा प्रवाह भएको अवस्थामा सेयर धितो कर्जालाई किन यति धेरै कडाई गरियो भन्ने कुरा अर्थमन्त्रीले बारम्बार उठाउने गरेको अर्थमन्त्रालय निकट स्रोतले जनायो। अहिले सेयरबजारमा यत्रो ठूलो जनसंख्या संलग्न भएको अवस्थामा किन पुँजीबजारमाथि बारम्बार प्रहार गर्ने काम गरियो भन्ने कुरामा अर्थमन्त्री शसंकित रहेको पनि स्रोतको दाबी छ।  

'अर्थमन्त्रीज्यूलाई सेयर बजारको सम्बन्धमा उचित सल्लाह दिनेहरुको कमी देखियो।  आफ्ना स्वार्थ अनुकुलका कुराहरु मात्र उहाँ समक्ष पुर्याइयो। उहाँको पदबहालीको केहि समय पछि केहि सिमित व्यक्तिहरुले मात्रै सेयर बजारबाट फाईदा लिईरहेका छन भनेर रिपोर्टिंग गरियो।  जसले गर्दा उहाँले सेयर बजारलाई त्यति महत्व दिनुभएन। तर जब अहिले आएर सेयर बजारमा जनसंख्याको ठूलो हिस्सा संलग्न रहेको, सेयर बजारको विकास हुन नसक्दा पुँजी बाहिरिएको, क्रिप्टो तथा फरेक्स ट्रेडिङ्गतर्फ पुँजी गएको, यदि सेयर बजारमा स्थायित्व भएको भए बिदेशमा बस्ने नेपालीहरुले पनि सेयर बजारमा लगानी गर्ने र त्यसले रेमिट्यान्स पनि बढ्ने जस्ता तथ्यहरु र सेयर बजारमा हुने कारोबारहरु बैंकिंग च्यानलबाटै हुने हुँदा तरलता व्यवस्थापनमा पनि धेरै हदसम्म सहजता हुने जस्ता कुराहरु उहाँले बुझ्नुभयो उहाँ पुँजी बजारको विकास र सुधारको लागि फटाफट काम गर्ने कुरामा प्रतिबद्ध देखिनु भएको छ', पछिल्लो समय अर्थमन्त्रीलाई पटक पटक भेटेर सेयर बजारको सुधार र विकासको लागि कसरी अघि बढ्ने भन्ने खाका अर्थमन्त्री समक्ष पेस गरेका लगानीकर्ता दिपक गौतमले बताए।  ब्रोकर मार्फत मार्जिन लोन, सेयर शिक्षा, ४/१२ को क्यापका कुरा, रियल सेक्टरका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउने, टी प्लस वन कारोबार, शर्ट सेलिङ्ग जस्ता कुराहरुलाई तिब्रताका साथ अघि बढाउनेछु भन्ने प्रतिबध्दता अर्थमन्त्रीले जनाएको पनि उनले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको