Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीहरुले नगद लाभांस घोषणा गर्न थाले, बियरिस बजारमा बोनस सेयर ठिक कि नगद लाभांस?

अर्थ संसार

शनिबार, ०८ असोज २०७९, ०९ : १४ मा प्रकाशित

कम्पनीहरुले नगद लाभांस घोषणा गर्न थाले, बियरिस बजारमा बोनस सेयर ठिक कि नगद लाभांस?

केहि समयअघि नेपाल लाईफ इन्स्योरेन्सले १५% नगद लाभांश घोषणा गर्यो। हरेक बर्षजसो बोनस सेयर बाँड्दै आएको नेपाल लाईफले नगद लाभांश दिने भएपछि लगानीकर्ताहरुले तछाड मछाड गर्दै एनएलआईसीको सेयर बेचे। सेलिङ्ग प्रेसर बढ्दै जाँदा एनएलआईसीको सेयर मूल्यमा पनि निकै गिरावट आएको छ। लाभांश घोषणा हुँदाको बखत नेपाल लाईफको सेयर मूल्य ७०० रुपैयाँको आसपास थियो तर केहि दिनकै अन्तरालमा सेयर मूल्य घटेर ५८० रुपैंयामा आईसकेको छ। 

नेपाली लगानीकर्ताहरुले बोनस सेयरलाई निकै रुचाउने गरेको पाईन्छ। बोनस सेयरले सेयर कित्ता बढाउँछ अनि बजार बुलिश हुँदा धेरै कित्ता सेयर बेचेर राम्रो कमाई हुन्छ भन्ने धारणा प्राय: लगानीकर्ताहरुको रहने गरेको पाईन्छ।  बजार घटे तापनि सेयर कित्ता बढ्दा दिर्घकालमा फाईदा नै हुन्छ भन्ने सोचाई अधिकांशको रहेको देखिन्छ। 

बोनस सेयर र मूल्य समायोजन 

कम्पनीले बोनस सेयर दिँदा मूल्य समायोजन हुने गर्दछ। कुनै कम्पनीको मूल्य सेकेण्डरी मार्केटमा ५०० रुपैयाँ छ र सो कम्पनीले २०% बोनस सेयर दियो भने सो कम्पनीको समायोजित मूल्य (५००/१+०.२०) ४१६ रुपैयाँ हुन आउँछ। मूल्य समायोजन हुने हुँदा खासमा स्टक डिभिडेण्डलाई त लाभांशको रुपमा गणना पनि गर्न मिल्दैन भन्ने राय पनि विज्ञहरुले बारम्बार व्यक्त गर्ने गर्दछन। 

यदि सो कम्पनीले स्टक डिभिडेण्डको सट्टा २०% नगद लाभांश दिएको भएको मूल्य समायोजन हुँदैन थियो। कम्पनीको सेयर मूल्य ५०० रुपैयाँ नै रहन्थ्यो र लगानीकर्ताहरुले २०% नगद पनि पाउने थिए।  

कस्तो छ नगद लाभांशमा मूल्य समायोजनको प्रकृया ?

यदि कुनै कम्पनीले सेकेण्डरी मार्केटमा चलिरहेको मूल्यको १०% भन्दा बढी नगद लाभांश दियो भने मात्रै सो कम्पनीको मूल्य समायोजन हुने गर्दछ। उदाहरणको लागि सेकेण्डरी मार्केटमा ५०० रुपैयाँ मूल्य रहेको कुनै कम्पनीले मूल्यको १०% अर्थात प्रतिकित्ता ५० रुपैयाँ भन्दा बढी हुने गरी लाभांश दियो भने मात्रै मूल्य समायोजन हुने गर्दछ। यदि सो कम्पनीको अंकित मूल्य १०० रुपैयाँ हो भने ५० रुपैयाँ लाभांश पाउन ५०% नगद लाभांश घोषणा गर्नुपर्ने हुन्छ। सेकेण्डरी मार्केटमा चलेको भाउको १०% भन्दा कम लाभांश दिएमा मूल्य समायोजन हुँदैन। प्राय: कम्पनीहरुले त्यति धेरै लाभांश नदिने हुँदा क्यास डिभिडेण्डमा मूल्य समायोजन हुने सम्भावना निकै कम हुन्छ।  
 
घट्दो बजारमा स्टक डिभिडेन्ट राम्रो कि क्यास डिभिडेण्ड ?

घट्दो बजारमा कुनै कम्पनीले स्टक डिभिडेन्ट दिएर मूल्य समायोजन भैसकेपछि कम्पनीको सेयरमूल्य अझै घट्नसक्ने सम्भावना हुन्छ। लगानीकर्ताहरुले बोनस सेयरलाई सित्तैमा पाएको सम्झिन्छन र यति कित्ता बोनस आउँछ भन्ने क्यालकुलेसन गरेर बोनस बापत आउने सेयर बिक्रि गर्न थाल्दछन। घट्दो बजारमा बजारबाट आम्दानी नहुने हुँदा अधिकांश लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियोमा रहेका सेयरहरु बेचेर नै आफ्ना आवश्यकताहरु पुरा गर्ने गरेको पाईन्छ। बियरिस बजारमा लगानीकर्ताहरु मूल्य थप घट्न सक्ने त्रासमा रहने हुँदा सेलिङ्ग प्रेसर बढ्न गई सेयर मूल्य निकै घट्न जाने हुन्छ।  

क्यास डिभिडेन्टमा लगानीकर्ताहरुको हातमा नगद पर्ने हुँदा अन्य आवश्यकताहरु पूरा गर्नकै लागि लगानीकर्ताहरुले सेयर बिक्रि गर्नुपर्ने बाध्यता कम हुन जान्छ। मूल्य समायोजन नहुँदा सेयर मूल्य माथिल्लै लेभलमा रहन्छ। त्यस्तै स्टक डिभिडेन्ट दिँदा सेयर संख्या बढ्न जान्छ र त्यसले अन्तत: सप्लाई बढ्न गई मूल्य तलातिरै राख्ने काम गर्दछ। कुनै समयमा ८/९ हजारमा रहेको कम्पनीको मूल्य अहिले ४/५ सयको हाराहारीमा खस्नुको कारण पनि बोनस सेयर नै हो। बोनस सेयरले वियरिस बजारको अवधिलाई पनि लम्ब्याउने गर्दछ। बोनस सुचिकृत भएर आउँदा सप्लाई बढ्ने, मूल्य समायोजन हुँदा मूल्य घट्ने र वियरिस बजारमा मूल्य घटीसकेपछि उठ्न निकै गाह्रो हुने हुँदा वियरिस बजारको समय अवधि लम्बिन जाने गर्दछ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको