Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा बोल्नै चाहँदैनन् 'सेयर विश्लेषक'

बसन्त पाण्डे

विहीबार, ०३ कार्तिक २०७९, १६ : ३३ मा प्रकाशित

बजार घट्दा बोल्नै चाहँदैनन् 'सेयर विश्लेषक'

कुनै समय थियो जतिबेला नेप्से परिसूचक यति पुग्छ, उती पुग्छ भनेर प्रक्षेपण गर्नेहरुको लर्को लाग्ने गर्दथ्यो। कोहि अब यो कम्पनीमा सर्किट लाग्छ भन्दै फेसबुक लाईभमा आउने गर्थे भने कोही अब म यो कम्पनीको सेयरमूल्य यो लेभलसम्म लैजान्छु भन्दै क्लबहाउसमा कुर्लने गर्थे। घण्टा घण्टामा सामाजिक सञ्जालमा सेयर बजारको प्रक्षेपण गर्नेहरु पनि थुप्रै थिए। नेपालको सेयर बजार 'मदर अफ द बुल' फेजमा प्रवेश गरिसकेको हुँदा अब नेप्से परिसूचक ५००० पुग्नबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिनेहरुको कमी थिएन। म एक्लैले बजार बढाउँछु भन्नेहरुको जय जयकार गर्ने लगानीकर्ताहरु पनि थुप्रै थिए। बजारका नाम चलेका 'विश्लेषक' भनिनेहरुलाई मिडियाहरुमा अन्तर्वार्ता दिन भ्याई- नभ्याई थियो।

तर अहिले समय बदलिएको छ। फेसबुक लाईभमा आएर अब यो कम्पनीको सेयरमा सर्किट लगाउनुपर्छ भन्नेहरु अहिले सामसुम छन्। क्लब हाउसमा अहिले 'महाराजाको दरबार' खुल्दैन। मदर अफ द बुल भन्नेहरुको फेसबुक वालमा केहि अपडेट नभएको पनि महिनौं भैसक्यो। नेप्से परिसूचक 'यो बिन्दुमा पुग्छ' भनेर प्रक्षेपण गर्नेहरु अहिले बजारको बारेमा बोल्नै चाहदैनन्। कतिपयले त आफ्नो फेसबुक वाललाई सेयर बजारबाट डाइभर्ट गरेर राजनीतिकरण गरिसकेका छन्। पहिले घण्टा घण्टामा सेयर बजार सम्बन्धी पोस्ट गर्ने उनीहरु अहिले घण्टा घण्टामा कुनै नेता र राजनीतिक दललाई गाली गर्दै स्टाटस पोस्ट गरिरहेका देखिन्छन। बजारको अवस्थाको बारेमा केहि सोध्न खोज्दा अहिले त सेयर बजारको बारेमा केहि नबोलौँ होला भन्दै उनीहरु पन्छिने गरेका छन्।  

किन अहिलेको अवस्थामा बोल्न चाहँदैनन् विश्लेषकहरु ?

बजार अहिले घट्दो ट्रेन्डमा छ। १४ महिनाअघि ३२०० को लेभलमा रहेको बजार अहिले १८०० को आसपासमा छ। यो अवधिमा बजार निकै ठूलो अङ्कले घटिसकेको छ। यति छोटो अवधिमा यत्रो फराकिलो अन्तरले बजार घट्ला भन्ने प्राय: लाई लागेको थिएन। तर बजार अप्रत्याशित रुपमा ठूलो अङ्कले घट्यो। विश्व तथा देशको अर्थतन्त्रको अवस्था अहिलेको अवस्थामा आईपुग्ला भन्ने पनि धेरै विश्लेषकहरुलाई लागेको थिएन। देशमा देखिएको तरलता संकटको अवस्था पनि केहि समयभित्रै समाधान होला भन्ने धेरैलाई लागेको थियो। तर त्यसो भएन। विश्वभरि नै मुद्रास्फीति बढ्यो। मुद्रास्फीति बढेसंगै विश्वभर नै ब्याजदर बढ्यो। नेपालमा त झन् १ वर्षको अन्तरालमा ब्याजदर शतप्रतिशतले बढेको छ।  ८/९ प्रतिशतको लेभलमा रहेको कर्जाको ब्याजदर १८% पुगिसकेको छ। १८% को ब्याजदरमा पनि भनेजति ऋण लिन सकिने अवस्था छैन। व्ह्वातै बढेको महँगी पनि नियन्त्रणमा आउन सकेको छैन। ब्याजदर माथिल्लो लेभलमै हुँदा महँगी नियन्त्रण गर्न सहज हुन्छ भन्ने राष्ट्र बैंकको बुझाई छ त्यसैले ब्याजदर तत्काल घट्न दिने पक्षमा राष्ट्र बैंक देखिँदैन। सरकारले आयातमा कडाई गरेसँगै भन्सार राजस्वमा ठूलो गिरावट आएको छ जसका कारण मुलुक चलाउन थप ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। यी सबै कुराहरुलाई नजिकबाट नियालिरहेका विश्लेषकहरु बजार तत्काल बढेर माथि जानेमा विस्वस्त छैनन्। 

प्राय: विश्लेषकहरुले बजार माथिल्लो बिन्दुतिर हुँदा बजार बुलिश नै छ अब यो भन्दा खस्दैन भन्दै सेयर खरिद गर्ने यो भन्दा उपयुक्त अवसर अब नआउने भन्दै खरिद गर्ने सल्लाह दिएका थिए। उनीहरुको विश्लेषण विपरित बजार अहिले निकै तल्लो बिन्दुमा आईपुगिसकेपछि अब बजार अझै घट्न सक्छ भनेर सार्वजनिक अभिव्यक्ति दिँदा हिजो बजार माथि माथि हुँदा चाहिँ यो बेच्ने बेला होइन भन्ने अहिले बजार निकै घटीसकेपछि चाहिँ बेच्न उक्साउने भन्दै आम लगानीकर्ताहरुले गाली बर्षाउने डर उनीहरुलाई छ। अब किन्ने बेला हो बजार यो भन्दा तल खस्दैन भनेर ढुक्कले भन्न सक्ने अवस्थामा पनि उनीहरु छैनन् किनकी बजारमा अझै अन्यौलता छ। 

'अहिले बजार बढ्छ भन्दा पनि खुब तलाई थाहा छ, बजार बढ्ने आधार के छ अहिले भन्दै गाली गर्न थाल्छन। हो पनि, अहिले बजार ठूलै अङ्कले बढीहाल्ने आधार पनि केहि देखिएको छैन। अब अझै बजार घट्न सक्छ, यी कारणहरुले बजार अझै घटाउँछन् भन्यो भने यसले नै बजार घटाएको हो भन्दै कुर्लिनेहरुको कमी छैन। त्यसैले अहिले बरु चुपचाप बस्नु नै ठिक लाग्यो' आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक नाम चलेका विश्लेषकले पंक्तिकारलाई बताए।  

'अहिले सप्लाई कम भएर मात्रै बजार घटीहाल्न नसकेको हो। मर्जमा गएर कारोबार रोकिएका कम्पनीहरुको कारोबार खुल्ला भएपछी आउने सप्लाईले बजार अझै घटाउने देखिन्छ। अब ति कम्पनीहरु कारोबारमा आएपछि मात्रै बजार कहाँसम्म झर्छ भन्ने थाहा हुन्छ। अहिले यस्तो कुरा गर्न थाल्यो भने त बाटोमा हिड्न पनि गाह्रो होला भन्ने डर छ। त्यसैले केहि समय मिडियाबाट टाढै बस्ने निर्णय गरेको छु। असत्य बोल्न मन लाग्दैन, सत्य बोल्यो भने बजारले पचाउँदैन। त्यसैले बरु बोल्दै नबोल्नु नै ठिक लाग्छ ' अर्की एक लगानीकर्ताले भनिन्। 

पुष / माघसम्ममा बजारले बटम लगाएर एउटा सिजनल बुल ल्याउँछ भन्ने आफूलाई लागेको अर्का एक विश्लेषक बताउँछन्। चुनावमा टन्न पैसा आउँछ र त्यसले तरलता बढाउँछ भन्ने धेरैलाई लागेको तर बजारमा हल्ला गरिएजस्तो धेरै पैसा बैंकिंग च्यानलमा आउने सम्भावना आफूले नदेखेको बताउँदै अब चुनावपछि चुनावले तरलता फालाफाल गराउँछ भन्ने हौवा पनि सकिने, कारोबार रोक्का भएका कम्पनीहरु पनि कारोबारमा आउने, पुष माघसम्ममा बजार घट्नुपर्ने जति घटिसक्ने र त्यसपछि चाहिँ ३०/३५% ले बजार बढ्न सक्ने सम्भावना आफूले देखेको उनले बताए। ''तत्कालै बजारमा अर्को बुल सुरु हुने चाहिँ म देख्दिन तर एउटा सिजनल बुल चाहिँ आउने पक्का छ' उनी भन्छन्।  

'अघिल्लो बुलमा बजार १८८१ को बिन्दुबाट बजार खस्दै गर्दा १६०० सम्म बजार आइपुग्दा प्राय: सबै ठूला खेलाडीहरु राम्रो नाफामा सेयर बेचेर बहिरिएका थिए। त्यो बेला सेयर लोनमा १२ करोडको सिमा पनि थिएन। अहिलेजस्तो तरलता संकट पनि थिएन। त्यस्तो अवस्थामा पनि बजार लामो समय ११०० को हाराहारीमा रुमल्लियो। ठूला लगानीकर्ताहरु शक्तिका साथ बजार प्रवेश गर्नसक्ने अवस्थामा पनि  उनीहरुले सेयर किनेनन्। बजार ४ वर्ष वियरिस गयो। अहिले त ठूला लगानीकर्ताहरु आफै फसेका छन्। प्राय:ले १२ करोडको सेटलमेन्ट गर्न धेरै घाटा खाएर सेयर बेचे। बैंकबाट ऋण लिनसक्ने अवस्था छैन। अब नयाँ पैसा नआई बजार बुलिश हुने मैले चाहिँ देखेको छैन। वास्तबिकता यहि हो तर अहिले यस्तो कुरा गर्यो भने मेरो अवस्था के हुन्छ होला तपाईं आफै अनुमान गर्न सक्नुहुन्छ', उनी भन्छन्। 

तर यसपटक थुप्रै नयाँ ब्रोकरहरु आउन लागेको हुँदा पहिलेजस्तो लामो वियरिस हुँदैन भन्ने विश्लेषण अर्का एक विश्लेषकको छ। 'नयाँ ब्रोकरहरुले करिब १० अर्ब रकम बजारमा लिएर आउने हुँदा त्यो पैसाले बजारलाई चलायमान बनाउने मैले देखेको छु। चुनाव पछि बन्ने सरकार र अर्थमन्त्रीले पनि केहि हदसम्म बजारलाई प्रभावित पार्नेछन्। बजार बुल हुन अलि समय लागेपनि बैंकिंग सेक्टरका कम्पनीहरु अब खासै नघट्ने देखिएकाले नेप्से परिसूचक अब धेरै नघट्ला जस्तो मलाइ लाग्छ।' उनले भने। बुलपछि बियर र बियरपछि बुल भनेको सेयर बजारको सुन्दरता हो भन्ने कुरा आम लगानीकर्ताहरुले स्विकार्नु पर्ने पनि उनी बताउँछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको