Like us!
Follow us!
Connect us!
Watch us!

घर छोडेर भाग्नेहरु सुरक्षित हुँदैनन्, घरबार बिहिन हुन्छन् !

हरिहर बजगाईं

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, १० : २१ मा प्रकाशित

घर छोडेर भाग्नेहरु सुरक्षित हुँदैनन्, घरबार बिहिन हुन्छन् !

जुनसुकै देशको शेयर बजारको इतिहास हेर्ने हो भने निकै उतारचढावपूर्ण देखिन्छ । तर इतिहासले नै एउटा सत्यको उजागर पनि गर्दछ की शेयर बजार निरन्तर उकालो चढीरहन्छ । विगत एक बर्षको अवधिलाई नियाल्ने हो भने नेपालको पूँजी बजारमा अनेकौं उतारचढाव देख्न सकिन्छ ।

३२०० माथि पुगेको नेप्से परिसूचकमा १८०० सम्मको गिरावट आयो । ४४ खर्ब माथिको बजार पूँजीकरण पनि २६ खर्बसम्म झर्‍यो । बजार उकालो लागेर नेप्से परिसूचक २२०० को आसपासमा पुगि पूनः २००० भन्दा तल झरेको छ र बजार पूँजीकरण २८ खर्बको हाराहारीमा रहेको छ ।
यसरी छोटो समयमा नै बजारमा ठूलो उतारचढाव देखिनुमा धेरै कारणहरु जिम्मेवार छन् । राज्यको गलत नीतिको दवाव, भिड मनस्थितिको प्रभाव, राजनैतिक नेतृत्वमा रहेका व्यक्तिको नकारात्मक बुझाई, लगानीकर्तामा ज्ञानको कमी तथा केहि सिमित समूहको नकारात्मक खेलोफड्को जस्ता कुराहरुले बजारलाई निकै अस्थिर र चुनौतीपूर्ण बनाएको छ ।

शेयर बजारका बादशाह भनेर चिनिने वारेन वफेटले भनेका छन् शेयर बजारबाट पैसा कमाउने सजिलो बाटो भनेको “घटेको बेला किन्ने र बढेको बेला बेच्ने” । साथै एउटा शर्त पनि राखिदिएका छन्, “किन्ने कम्पनी आधारभूत सूचकहरुमा बलियो हुनुपर्दछ” । तर आज नेपालको शेयर बजार र यहाँ उपस्थित भिडको व्यवहार ठिक उल्टो चलिरहेको देख्न सकिन्छ । यसबाट के प्रष्ट हुन्छ भने मानिसहरु सजिलो बाटो हिड्न चाहँदैनन् ।

मानिसहरु अधिर छन् ।  मानिसहरु आनन्द भन्दा रोमाञ्चकतामा रमाउँछन् । यी प्रवृतिलाई आजको भिडले कारोबार (ट्रेडिङ) को नाम दिएर जति महत्वपूर्ण स्थान दिएको छ यसले आम लगानीकर्तालाई विस्तारै पूर्ण सट्टेबाजीको बाटोमा डोहोर्‍याइरहेको छ । आफूले किनेपछि बढ्नै पर्ने र बेचेपछि घट्नै पर्ने अतिवादी मानसिकताले धेरैलाई अधिरमात्र नभई मानसिक रोगी पनि बनाएको छ । साथै बजारलाई पनि चुनौती थपिदिएको छ ।

यहाँ प्राविधिक विश्लेषणको विरोध गर्न खोजिएको होइन । तर प्राविधिक विश्लेषणका नाममा सित्तैमा उपलब्ध हुने केही वेवसाइटका चार्ट र युट्युव, फेसबुक, टेलिग्राम लगायतका सामाजिक सञ्जाल प्रयोग गरी नेप्सेको भविष्यवाणी गर्ने र प्राविधिक विश्लेषण तालिमका नाममा लुट्ने धन्दा गरीरहेका तमाम व्यक्तिहरुका कारण पनि बजारमा ठूलो समस्या निम्तिएको भने सत्य हो । केही स्वनामधन्य विश्लेषकका अल्पज्ञानको पछि लाग्दा बेस्सरी बढेको बेला निकै कमजोर कम्पनीको शेयर किनेर आज धेरै व्यक्तिहरु मर्कामा परेका छन् । युट्युवमा अरुका भिडियो हेरेकै भरमा बजारको प्राविधिक विश्लेषण जस्तो गहन विषयको विज्ञ हूँ भन्ने जमात र एक अर्कामा कुनै पनि सम्बन्ध नराख्ने केही सूचकहरुको व्याख्या गरेर प्राविधिक विश्लेषण भयो भन्ने भ्रमलाई पत्याउने भिड रहेसम्म बजार समस्यामा रहिरहने देखिन्छ । बजार विकासमा अवरोधकको रुपमा देखा परेको यो चुनौती अन्य चुनौती भन्दा जटिल बन्दै गइरहेको छ ।

शेयर पनि सम्पती हो र त्यसको उचित प्रयोग तथा आवश्यकता अनुसार संरक्षण गर्नु सम्पती वाहकको दायित्व हो । यदी घरको खाँवो ढल्न खोजे घरधनीले टेको लगाउँने हो, घर छोडेर भाग्ने होइन । आज विविध कारणले नेपालको शेयर बजार धरमराएको बेला केही प्राविधिक विश्लेषणका नाममा सट्टेबाजी गरिरहेका स्वार्थी तत्वहरुको जमातले झनै आतंक सिर्जना गरिरहेका छन् र टेको लगाउन पर्ने बेला भाग्ने सल्लाह दिइरहेका छन् । तर सबैले बुझ्नुपर्ने कुरा भनेको चाँहि घर छोडेर भाग्नेहरु सुरक्षित हुँदैनन्, घरबार बिहिन हुन्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको