Like us!
Follow us!
Connect us!
Watch us!

कार्यकालको अन्तिम मौद्रिक नीति बनाउँदै गभर्नर अधिकारी

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, ०७ : ३९ मा प्रकाशित

कार्यकालको अन्तिम मौद्रिक नीति बनाउँदै गभर्नर अधिकारी

सामाजिक सञ्जाललाई आधार मान्ने हो भने गएको तीन/चार वर्षमा सबैभन्दा धेरै गाली गरिएका व्यक्तिमा एक हुन् गभर्नर महाप्रसाद अधिकारी । त्यसको कारण थियो, कसिलो मौद्रिक नीति मार्फत बजार र अर्थतन्त्रलाई नियन्त्रण गर्न खोजेको आरोप । राजनीतिक भाषामा भन्ने हो भने सरकारको नेतृत्व कांग्रेस या माओबादी भएको बेला ट्युनिङ नमिलेका गभर्नर । यसैबीच फेरिएको राजनीतिक माहौल तथा गभर्नर कार्यकालको अन्तिम मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेका छन् गभर्नर अधिकारी । आम उद्योगी, ब्यवसायी तथा हर क्षेत्रको लगानीकर्ताको लागि मात्र नभएर स्वयम गभर्नर अधिकारीको लागि समेत यो मौद्रिक नीति  विशेष महत्वको रहेको छ :-

बैंकमा थुप्रिएको ७ खर्ब : बैंक वित्तीय संस्थामा अहिले करिब ७ खर्ब रकम थुप्रिएर बसेको छ । यसको दोष राष्ट्र बैंकलाई लगाइदै आएको छ । राष्ट्र बैंकले समय सापेक्ष बैंकिङ नीतिहरुमा सहजीकरण गर्न नसक्दा बैंकमा पैसा थुप्रिएर बसेको बताउँछन् बैंकर्स संघका अध्यक्ष सुनिल के सी । बैंकमा पैसा थुप्रिएको छ तर कतिपय क्षेत्रमा राष्ट्र बैंकको वर्किङ क्यापिटल गाइडलाइन' का  प्रावधानका कारण लगानी गर्न सकिएको छैन । कोभिड सगै तरलता अभाव भएको बेला लिइएको कतिपय नीति राष्ट्र बैंकले आजको सहज परिस्थितिसम्ममा पनि खुकूलो नगर्दा लगानीका कतिपय समस्याहरू सुल्झिन नसकेको के सी बताउछन् । केही नीतिगत दरहरु चलाउनु पर्यो, जोखिम भारहरु घटाइदिनु पर्यो, त्यसपछि लगानी बिस्तारै बढ्न थालिहाल्छ, त्यसैले साँचो राष्ट्र बैंकसँग छ, अध्यक्ष के सीले भने । यसकारण गभर्नर अधिकारी आम व्यवसायीसंग मात्र होइन बैंकरहरुलाई समेत खुसी पार्न सक्ने कार्यकालको अन्तिम मौद्रिक नीति बनाउँदैछन् ।

राजनीतिक टयुनिङ मिलेको परिस्थिति : गभर्नर अधिकारीलाई लागेको ठूलो आरोप हो, सरकारसँग राजनीतिक टयुनिङ नमिल्नु । गभर्नर अधिकारीलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले त निलम्बन नै गराएका थिए । तर गभर्नर अधिकारीको पक्षमा अदालतले अन्तरिम आदेश जारी गर्दियो र उनी  अहिले पदमा छन् । अधिकारीलाई एमालेको अर्थ तथा योजना विभागको सदस्य समेत रहेको आरोप लाग्यो । तर उनले त्यसलाई खण्डन गर्दै आएका छन् । गभर्नरहरु कार्यकाल पछि राजनीतिमा प्रवेश गरेका उदाहरणहरु प्रसस्तै छन् । तत्कालीन गभर्नर युवराज खतिवडा त एमालेको सरकारको पालामा अर्थमन्त्री समेत भए । अहिले पनि उनी प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार छन् । बहालवाला गभर्नर अधिकारी पनि कार्यकालपछि बिस्तारै राजनीतिमा आउन सक्ने एमाले उच्च स्रोत नै बताउँछ । त्यसैले अहिले एमाले नेतृत्वको सरकार र अर्थमन्त्री भएको रहेको बेला लोकपि्रय मौद्रिक नीति ल्याउने सुनौलो अवसर गभर्नर अधिकारीलाई कार्यकालको अन्तिममा जुरेको छ ।

उद्योगी, व्यवसायी तथा सेयर लगानीकर्तालाई खुसि बनाउन सुनौलो अवसर : सेयर बजारमा नाम चलेका लगानीकर्ता अम्बिका प्रसाद पौडेल भन्छन्, 'समग्र आम बजार र सेयर बजारलाई कस्तो ठाउँमा राख्ने भन्ने कुरा सरकारले ल्याउने बजेट र राष्ट्र बैंकको मौद्रिक नीति हेरे पुग्छ ।' बजेट आइसकेको छ । अब सबैको चासो मौद्रिक नीतिमा परेको छ । विशेषत सेयर बजारको लागि राष्ट्र बैंकले लिएको सेयर धितो कर्जाको नियन्त्रणकारी सीमालाई यसपटक खुकुलो हुने बताईदै आएको छ । समय परिस्थिति पनि सोही अनुरुपको अनुकूल छ । राष्ट्र बैंक उच्च स्रोत भन्छ 'गभर्नरलाई सबैभन्दा धेरै गाली गर्ने सेयर लगानीकर्ताहरुको लागि यसपटकको मौद्रिक नीतिले खुसी बनाउँदैछ । रिक्स वेटेज घट्ने प्राय: निश्चित छ भने १५/२० करोडको सीमामा पनि पुनरावलोकन हुन् सक्छ ।' त्यसैले पनि सेयर लगानीकर्ताको आलोचनाको केन्द्रबिन्दु बनेका गर्भनर अधिकारीलाई कार्यकालको अन्तिम मौद्रिक नीति विशेष महत्वको रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको