Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका-चीन व्यापार युद्ध चर्किंदै : चीनले बोइङ्ग विमान खरिद रोक्यो, अमेरिकी कम्पनीहरूलाई झट्का

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १९ : ५५ मा प्रकाशित

अमेरिका-चीन व्यापार युद्ध चर्किंदै : चीनले बोइङ्ग विमान खरिद रोक्यो, अमेरिकी कम्पनीहरूलाई झट्का

अमेरिका र चीनबीचको व्यापार युद्ध फेरि तीव्र बनेको छ। अमेरिकी प्रशासनले चिनियाँ सामानमा १४५ प्रतिशतसम्मको भन्सार शुल्क लगाउने निर्णय गरेपछि चीनले जवाफस्वरूप आफ्नो एयरलाइन्स कम्पनीहरूलाई अमेरिकी कम्पनी बोइङ्गको विमान नकिन्न निर्देशन दिएको छ।

ब्लूमबर्गको रिपोर्टअनुसार, चीनले आफ्ना वायुसेवा कम्पनीहरूलाई बोइङ्गसँगको विमान खरिद सम्झौता तत्काल स्थगन गर्न मात्र नभई अमेरिकी कम्पनीहरूसँग विमान पार्टपूर्जा तथा सम्बन्धित उपकरणहरू खरिद नगर्न समेत निर्देशन दिएको छ।

बोइङ्गलाई ६६ अर्ब डलरको झट्का, सेयरमा भारी गिरावट

चीनको निर्णयको असर अमेरिकी विमान निर्माता कम्पनी बोइङ्गमा गम्भीर परेको छ। बोइङ्गका सेयर मूल्यहरू प्रि-मार्केट ट्रेडिङमा करिब ३ प्रतिशतले घटेका छन्। बोइङ्गका लागि चीन एक प्रमुख बजार हो, जहाँ युरोपेली कम्पनी एयरबसले पहिल्यै दबदबा जमाइसकेको छ।

जुनयाओ एयरलाइन्सले बोइङ्ग ७८७–९ ड्रीमलाइनरको डेलिभरी रोक्यो

शाङ्घाईमा आधारित जुनयाओ एयरलाइन्सले करिब १२ करोड डलर मूल्य बराबरको बोइङ्ग ७८७–९ ड्रीमलाइनर विमानको डेलिभरी स्थगित गरेको छ। विमानको डेलिभरी ३ हप्ताभित्र हुने कार्यक्रम रहेको थियो। यो विमान ब्रुसेल्स र एथेन्सजस्ता युरोपेली गन्तव्यतर्फको दीर्घ दूरी सेवा विस्तारका लागि प्रयोग गरिने योजना थियो।

चीनको कदमले मर्मत खर्च बढ्ने, सुरक्षामा असर पर्ने सम्भावना

चीनले अमेरिकी पार्टपूर्जाहरूको खरिद रोकेसँगै देशभित्र सञ्चालनमा रहेका बोइङ्ग विमानहरूको मर्मतसम्भार र सञ्चालनमा कठिनाइ देखिएको छ। वैकल्पिक स्रोत खोज्नुपर्ने बाध्यताको कारण खर्च बढ्नेछ भने सुरक्षाका मापदण्डहरूमा समेत असर पर्ने विज्ञहरूको भनाइ छ।

चीन सरकारद्वारा प्रभावित एयरलाइन्सलाई सहयोगको तयारी

चीन सरकारले बोइङ्ग विमान भाडामा लिएका वा खरिद प्रक्रियामा रहेका एयरलाइन्सहरूलाई राहत दिने उपायबारे छलफल गरिरहेको छ। चर्किएको भन्सारले चिनियाँ वायुसेवा कम्पनीहरूका लागि बोइङ्ग विमानहरू आर्थिक रूपमा धेरै महँगो बनाइदिएको छ।

४५, ५३ र ८१ विमान लिने तयारीमा रहेका शीर्ष तीन एयरलाइन्स प्रभावित

चीनका शीर्ष तीन वायुसेवा कम्पनीहरू—एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स र चाइना सदर्न एयरलाइन्सले सन् २०२५ देखि २०२७ भित्र क्रमशः ४५, ५३ र ८१ वटा बोइङ्ग विमान लिन योजना बनाएका थिए। अब यी सबै योजनामा अवरोध आउने प्रष्ट देखिएको छ।

व्यापार युद्धले $६५० अर्बको वस्तु व्यापार जोखिममा

अमेरिका र चीनबीचको व्यापार युद्धले २०२४ मा मात्रै ६५० अर्ब डलर बराबरको वस्तु व्यापारलाई जोखिममा पारेको विश्लेषकहरूको भनाइ छ। दुवै देशले एक-अर्कामा व्यापक भन्सार वृद्धि गरेपछि व्यापार पूर्ण रुपमा ठप्प हुने डर बढेको छ।

ट्रम्पको सन्देश : 'चीनसँग सम्झौता सम्भव, तर अहिले होइन'

राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, "म चीनमाथिको भन्सारमा पूर्ण रूपमा सहज छु।" तर, उनले चीनसँग कुनै पनि सम्झौता हालसम्म नभएको र निकट भविष्यमा सहमति हुनसक्ने संकेत दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको