Like us!
Follow us!
Connect us!
Watch us!
कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण

के पाक्दैछ नेपाल हाइड्रो डेभलाेपर कम्पनीमा ?

अर्थ संसार

सोमबार, २४ माघ २०७८, ०९ : २७ मा प्रकाशित

के पाक्दैछ नेपाल हाइड्रो डेभलाेपर कम्पनीमा ?

नेपाल हाइड्रो डेभलाेपर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत समूह अन्तर्गत सूचीकृत भएकाे एक पब्लिक कम्पनी हाे ।

कम्पनीकाे परिचय :

नेपाल हाईड्रो डेभलोपर कम्पनी लिमिटेड २०६३ साल भदाै २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राईभेट लिमिटेडको रुपमा दर्ता भई २०७१ साल असार ३१ गते पब्लिक लिमिटेडमा परिणत भएकाे थियाे । कम्पनीकाे मुख्य उद्देश्य नेपालमा विद्युत विकासको लागि साना तथा मझौला आयोजनाहरुको सञ्चालन गरी विद्युत उत्पादन, बिक्री वितरण तथा प्रशारण गर्नु हाे ।

कम्पनीले विद्युत विकास विभागबाट २०६७ साल मंसिर २० गते ३५ वर्षको लागि विद्युत उत्पादन अनुमति प्राप्त गरी दोलखा जिल्ला भीमेश्वर नगरपालिकास्थित चर्नावती खोलामा ३.५२ मेगावाटको चर्नावती खोला जलविद्युत आयोजना निर्माण गरी उक्त आयोजनाबाट २०७० साल जेठ २४ गतेदेखि व्यापारिक उत्पादन सुरू गरी बिक्री वितरण तथा प्रसारण गर्दै आएको छ । यस आयोजनाको सम्पुर्ण लागत व्यवस्थापन प्रवर्द्धकहरुको स्वपुँजी तथा विभिन्न बैंकहरुबाट प्राप्त सहवित्तियकरण कर्जाबाट गरिएकोमा हाल उक्त कर्जा बैंक अफ काठमाण्डौ लिमिटेडबाट लिईरहेको छ ।

कम्पनीले निकट भविष्यमा नै कम्पनीकाे शतप्रतिशत स्वामित्व रहने गरी तल्लो ६ मेगावाटको चर्नावती जलविद्युत आयोजना निर्माणका लागि विस्तृत अध्ययन गरी रहेको छ । कम्पनीले यस आयोजना निर्माण गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न सक्ने सम्भावना रहेकाे छ ।

यसका साथै कम्पनीले उपयूक्त जलविद्युत आयोजनाको खोजी तथा अध्ययन गरी आगामी दिनमा थप लगानी गरी कम्पनीको वित्तीय अवस्थालाई अझ सुदृढ गर्ने योजना बनाएकाे छ । 

कम्पनीबाट प्रवद्धित तल्लो चर्नावती जलविद्युत आयोजनाकाे प्रगति विवरण :

कम्पनीकाे सेयर संरचना :

कम्पनीकाे चुक्ता पूँजी २९ कराेड ९० लाख रूपैयाँ रहेको छ । कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २०७४ साल कार्तिक २१ गते सूचीकरण भई धितोपत्र बजारमा कारोबार भईरहेको छ । कम्पनीको संस्थापक शेयरधनीहरुको साधारण सेयर पनि २०७७ साल भदाै ३१ गतेदेखि लकईन (Lock In) खुल्ला भई स्वतन्त्र रुपमा किनबेच भईरहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को अन्त्यमा जम्मा शेयरधनीहरुको संख्या २७ हजार २ सय ७१ रहेको छ । कम्पनीमा अब संस्थापक र सर्वसाधारण भन्ने समूह रहेको छैन । सबै सेयरहरु स्वतन्त्र रुपमा किनबेच भईरहेका छन् ।

No description available.

कम्पनीकाे वित्तीय अवस्था :

कम्पनीले हालै मात्र चालु आर्थिक वर्ष २०७८/७९ काे दाेश्राे त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे थियाे । उक्त वित्तीय विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा ९६.१९ प्रतिशतले बढेको हाे । गत वर्षकाे यसै अवधिमा कम्पनीले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी २६.६७ प्रतिशतले बढेको हाे । अघिल्लाे आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीकाे चुक्ता पूँजी ३१ करोड ९९ लाख रुपैयाँ रहँदा जगेडा काेषमा २ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ९ रूपैयाँ ८ पैसाबाट बढेर १४ रूपैयाँ ४८ पैसा पुगेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ११४ रूपैयाँ ७९ पैसा रहेको छ । 

गत आर्थिक वर्ष २०७७/७८ काे कम्पनीकाे विद्युत उत्पादनबाट लक्षित आम्दानी र वास्तविक आम्दानीकाे अवस्था यस प्रकारकाे छ :

No description available.

कम्पनीको सेयर पूँजी, ऋण तथा सञ्चितीकाे अवस्था यस प्रकारकाे छ :

No description available.

सेयर बजारमा नेपाल हाइड्राेकाे स्थान :

सेयर बजारमा नेपाल हाइड्राे डेभलाेपर कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ३१ लाख ९९ हजार ३ सय कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयरमूल्य ५ सय ७५ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम ८ सय ४० रूपैयाँ र न्युनतम २ सय ४५ रूपैयाँमा कारोबार भएको छ । 

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य ५ सय ३० रूपैयाँ ४४ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको सर्वाधिक मूल्य हेर्ने हाे भने अहिले यसकाे मूल्य केही घटेकाे छ । कम्पनीकाे एक वर्षकाे सर्वाधिक मूल्य ८ सय ४० रूपैयाँ रहेकोमा अहिले यसको मूल्य ५ सय ७५ रूपैयाँ छ ।

कम्पनीकाे लाभांश इतिहास :

कम्पनीकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा कम ४ प्रतिशत लाभांश वितरण गरेकाे छ । कम्पनीले हालसम्म ३ वटा आर्थिक वर्षमा लाभांश वितरण गरेकाे छ । 

आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

No description available.

कम्पनीकाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

हाल कम्पनीकाे अध्यक्षमा कुमुद कुमार दुगड रहेका छन् । उनी नेपाल मैदा उद्योग संघको अध्यक्ष समेत हुन् । नेपाल मैदा उद्योग संघको २२ औँ वार्षिक साधारण सभाले आगामी २ वर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हाे । अध्यक्ष कुमुद कुमार दुगड विगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका थिए । 

कम्पनीकाे सञ्चालकमा पशुपति मुरारका, निभिता प्रधान, पुजा अटल, भाेला श्रेष्ठ रहेका छन् । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतमा शेष कुमार ढुङ्गाना रहेका छन् । उनी साेही कम्पनीकाे सचिव पनि हुन् ।

No description available.

प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ NHDL ?

यसअघि करिब ६ महिना अघि NHDL को सेयर मूल्य ७८५ सम्म पुगेको थियो।  त्यो बिन्दुबाट घट्दै ३५० को बिन्दुसम्म आइपुग्यो र त्यहाँबाट बढेर ५७५ को बिन्दुसम्म पुग्यो।  ५७५ को बिन्दुबाट मूल्य घट्न थाल्यो र फेरी ३५० कै एरियामा आएर बढ्दै जाँदा अहिले  एकपटक फेरी ५७५ कै बिन्दुमा पुगेको छ। सेयर मूल्य यसरी दुइपटक एउटै बिन्दुमा सपोर्ट लिएर बढ्नुलाई प्राविधिक विश्लेषणमा निकै महत्वका साथ लिइन्छ।  प्राविधिक विश्लेषणमा यसलाई 'डबल बटम' प्याटर्न भनिन्छ। अहिले त्यहि डबल बटम प्याटर्नको ब्रेकआउट हुन लागेको देखिन्छ।  यदि सेयर मूल्य ५७५ माथिको जुनसुकै बिन्दुमा राम्रो भोलुम सहित क्लोज हुन्छ भने डबल बटम प्याटर्न भ्यालिड हुने देखिन्छ।  

अरु इण्डिकेटरहरुले के देखाईरहेका  छन ? 

भोलुम 
विगत केहि दिन देखि NHDL  को सेयर उच्च मात्रामा कारोबार भैरहेको छ।  मूल्य बढ्दै जाँदा भोलुम पनि बढ्नुले बजारमा यो कम्पनीको सेयरको उच्च माग रहेको संकेत गर्दछ।  भोलुम सहित सेयर मूल्य बढ्दै जानुले आगामी दिनमा यो कम्पनीको सेयर मूल्य बढेर जाने देखिन्छ।  

RSI 
NHDL  को डेली चार्टमा अहिले RSI ६९.७१ को लेभलमा रहेको देखिन्छ। ६० भन्दा माथिको RSI ले कुनै कम्पनीको सेयर ट्रेडिङ्ग जोनमा रहेको इण्डिकेसन गर्दछ भने ७० भन्दा माथिको RSI ले स्ट्रंग ट्रेडिङ्ग जोनमा रहेको जनाउँछ।  यदि आगामी दिनमा RSI ७० भन्दा माथि माथि नै बस्न सक्यो भने NHDL सेयर मूल्य अझै माथि जाने सम्भावना प्रबल भएर जानेछ। 

MACD 
NHDL को डेली चार्टमा MACD इण्डिकेटर लगाएर हेर्दा  सेयर मूल्य ५०० भन्दा माथि लाग्दै गर्दा MACD लाइनले सिग्नल लाइनलाइ तलबाट काटेर माथितर्फ लागेको छ। MACD ले बुलिश क्रसओभर दिँदै गर्दा हिस्टोग्रामहरु पनि लामा लामा बन्दै गईरहेका छन जसले आगामी दिनमा NHDL सेयर मूल्य बढेर जाने संकेत गरेको छ।  

बुलिंगर ब्याण्ड 
यसअघि ५३० बाट मूल्य घट्दै जाँदा बुलिंगर ब्याण्डको मिडल ब्याण्डलाइ सपोर्ट बनाएर सेयर मूल्य बढेको देखिन्छ।  अहिले अपर ब्याण्डभन्दा माथि क्यान्डल बनेको छ।  यदि आगामी दिनमा अपर ब्याण्डलाइ सपोर्ट बनाउँदै क्यान्डलहरु बन्न थाल्यो भने मूल्य माथितिर जाने सम्भावना प्रबल भएर जानेछ।  

अबको टार्गेट कति ?
यदि NHDL क्लोजिंग बेसीसमा ५७५ भन्दा माथि बस्न सफल भयो भने त्यसले डबल बटम प्याटर्न कन्फर्म गर्नेछ।  डबल बटम प्याटर्नको टार्गेट भनेको डबल प्याटर्न बन्दा जति अंकको फरक हुन्छ, प्याटर्न ब्रेकआउट भैसकेपछि त्यति नै अंकले सेयर मूल्य बढ्छ भन्ने हो।  यसरी हेर्दा यदि डबल बटम प्याटर्न भ्यालिड हुन्छ भने आगामी दिनमा NHDL को सेयर मूल्य ८०० सम्म पुग्न सक्ने देखिन्छ।  

62008a8bc4576.png

कम्पनीमा लगानी कति सुरक्षित ?

समग्रमा नेपाल हाइड्राे डेभलाेपरलाई हेर्दा लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् । कम्पनीकाे व्यवस्थापकीय तथा वित्तीय पक्ष बलियाे रहनुका साथै कम्पनीकाे भावी याेजना पनि स्पष्ट छन् । 

कम्पनीकाे मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३९.७१ गुणा रहेकाे छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० गुणालाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । पिई रेसियोलाई मात्र आधार बनाएर हेर्ने हो भने अहिले यो कम्पनीमा गरिने लगानी केहि जोखिमपुर्ण देखिन्छ तर लगानी गर्दा लगानीकर्ताहरूले पिई रेसियो मात्र नभएर कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ ।  अरू सूचकहरू अध्ययन गर्दा याे कम्पनीकाे वित्तीय अवस्था नेप्सेमा सूचीकृत अन्य हाइड्राेपावर भन्दा राम्राे छ ।

पछिल्लाे समय सेयर बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढिरहेकाे छ । हाइड्राेपावरमा लगानी गर्न चाहाने लगानीकर्ताहरूले याे हाइड्राेपावरमा लगानी गर्न पनि सुरक्षित नै देखिन्छ । कम्पनीकाे नाफा, जगेडा काेष, ईपीएसहरू सकारात्मक छ । 

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको